अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट लुम्बिनी प्रदेशको राजधानी भालुबाङ जोड्ने गच्छे-भालुबाङ सडक निर्माणले गति लिएको छ ।
सडक सम्पन्न भएपछि हालको १२० किलोमिटर लामो यात्रा ७३ किलोमिटरमा छोटिनेछ । प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि बढाइएको सडक गच्छे, ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ पुग्नेछ ।
सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका प्रमुख इन्जिनियर वासुदेव भण्डारीका अनुसार गच्छेदेखि लामातालसम्मको ४७.५ किलोमिटर सडकमा ग्राभेल सम्पन्न भइसकेको छ । गच्छे-ढिकुराको ५.६५ किलोमिटर खण्डमा करिब साढे तीन करोड रुपैयाँ लागतमा कालोपत्र भइरहेको छ ।
त्यस्तै, समपूरक आयोजनाअन्तर्गत ९.५ किलोमिटर सडक कालोपत्रको काम भइरहेको छ। निर्माण व्यवसायी कविराम खनालका अनुसार उक्त खण्डको भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्षमा सडक निर्माणका लागि प्रदेश र सङ्घीय सरकारबाट पाँच-पाँच करोड गरी १० करोड रुपैयाँ विनियोजन गरिएको छ । सडक सम्पन्न भएपछि अर्घाखाँचीसहित गुल्मी, प्युठान र पाल्पाका बासिन्दालाई प्रदेश राजधानी आवतजावतमा सहज हुनेछ। साथै, कृषि उपजको बजारीकरण, व्यापार, पर्यटन तथा सार्वजनिक सेवा पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।
सम्पूर्ण सडक कालोपत्र गर्न थप करिब एक अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान छ । पर्याप्त बजेट र निरन्तर निर्माण कार्य सुनिश्चित भए आयोजनाले जिल्लाको आर्थिक तथा प्रशासनिक पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।





