काठमाडौँ । धर्म चौधरी नेतृत्वको उज्यालो नेपाल पार्टी र दधिराम परियार आबद्ध हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन गर्ने सहमति भएको छ ।
दुवै दलले समान राजनीतिक उद्देश्य र साझा राष्ट्रिय प्रतिबद्धताका आधारमा सहकार्यलाई संस्थागत गर्दै एकीकृत ढंगले अघि बढ्ने निर्णय गरेका हुन् ।
समायोजनसम्बन्धी सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी तथा हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रमा सात बुँदे समझदारी समेटिएको जनाइएको छ । सहमतिअनुसार दुवै पक्षबीच पूर्ण एकता कायम गर्ने तथा संगठनात्मक संरचना र नेता-कार्यकर्ता व्यवस्थापनको प्रक्रिया यथाशीघ्र अघि बढाउने विषयमा सहमति भएको छ ।









