काठमाडौँ । नेपाली काँग्रेसले पार्टी निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेता-कार्यकर्तालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ।
काँग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्तिविरुद्ध सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थी नेताहरूलाई नियन्त्रणमा लिइएको हो।
काँग्रेसका अनुसार पक्राउ पर्नेहरूमा राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डे रहेका छन्।
विज्ञप्तिमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नागरिकको संवैधानिक अधिकारको सम्मान हुनुपर्ने उल्लेख गर्दै प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु अनुचित भएको काँग्रेसको धारणा सार्वजनिक गरिएको छ।
पार्टीले नियन्त्रणमा लिइएका विद्यार्थी नेताहरूलाई बिना ढिलाइ रिहा गर्न सरकारसँग माग गरेको छ। साथै नागरिकको अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण विरोधको अधिकार सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिएको छ।







