काठमाडौँ । रोल्पाको गंगादेव गाउँपालिका-६ स्थित रातामाटा क्षेत्रमा खहरे खोलाको भेलले बगाउँदा दुई बालकको ज्यान गएको छ।
विद्यालयबाट घर फर्किने क्रममा बुधबार साँझ उनीहरू खोलाको पानीको तीव्र बहावमा परेका हुन्। घटनामा रातामाटाका निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समीर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
घटना साँझ करिब पौने ६ बजे भएको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जिनावाङबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट समेत थप प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप आवश्यक अनुसन्धान तथा विवरण संकलन कार्य भइरहेको सम्बन्धित निकायले जनाएको छ।







