काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । पहिरो ठूलो भएकाले दुईतर्फी नै सवारी बन्द भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
पहिरो पन्छाउनका लागि सम्बन्धित स्थानमा मेसिन परिचालन गरिएको छ भने पन्छाउने क्रम जारी रहेकाले मुग्लिनबाट नारायणगढतर्फ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने गाडीहरू रोकिएका छन् ।
सडक डिभिजन कार्यालयले पहिरोका कारण रोकिएका सम्पूर्ण यात्रुहरूलाई धैर्य गरी बसिदिन आग्रह गरेको छ । आज बिहान करिब पौने ९ बजेतिर पहिरो खसेको बताइएको छ ।






