काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आफ्ना जर्मन श्रीमान् थोमस पशुपतिनाथ मन्दिरभित्र प्रवेश नगरेको स्पष्ट पारेकी छन्।
सामाजिक सञ्जालमा श्रीमान्सहितको तस्बिरलाई लिएर प्रश्न उठेपछि उनले मन्दिरको स्थापित धार्मिक नियम पालना गरिएको बताएकी हुन्।
पशुपतिनाथ मन्दिरमा गैरहिन्दु दम्पती प्रवेश गरेको विषयमा पक्राउ परेको घटना सार्वजनिक भएसँगै केही दिनअघि तामाङले श्रीमान्सँग खिचाएको तस्बिर पनि चर्चामा आएको थियो। मन्दिरको मूल प्रवेशद्वारबाहिर खिचिएको तस्बिरमा दुवैले माला लगाएको देखिएपछि गैरहिन्दु रहेका थोमसलाई मन्दिर प्रवेशमा विशेष छुट दिइएको हो कि भन्ने प्रश्न उठेको थियो।
यस विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै तामाङले श्रीमान् मन्दिरको ढोकासम्म मात्रै पुगेको र आफू एक्लै दर्शन गर्न भित्र गएको बताएकी छन्।
उनका अनुसार दर्शनका क्रममा पुजारीले आफूलाई माला, खादा र टीका दिएका थिए। पुजारीले थोमसका लागि समेत छुट्टै सामग्री उपलब्ध गराएपछि मन्दिरबाहिर आएर श्रीमान्लाई माला र टीका लगाइदिएको उनको भनाइ छ।
तामाङले गैरहिन्दुलाई मन्दिरभित्र प्रवेशमा रोक लगाउने धार्मिक व्यवस्थाबारे सुरक्षाकर्मीबाट जानकारी पाएको उल्लेख गरेकी छन्। भारतीय काँग्रेस नेतृ सोनिया गान्धी नेपाल भ्रमणका क्रममा पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न नपाएको प्रसंगसमेत उनले स्मरण गरेकी छन्।
‘आफ्नो-आफ्नो धर्मको नियम हुन्छ, संविधानका विधान जस्तै धर्मका पनि विधानहरू हुन्छन्, जसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ,’ तामाङले सामाजिक सञ्जालमा लेखेकी छन्।पशुपतिनाथ मन्दिरको बाहिरी परिसरमा गैरहिन्दुलाई प्रवेश निषेध नभएको उल्लेख गर्दै उनले आफू र श्रीमान्बाट मन्दिरको धार्मिक मान्यता तथा स्थापित नियम उल्लंघन नभएको दाबी गरेकी छन्।
सामाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै तामाङले वास्तविकता नबुझी भ्रम नफैलाउनसमेत आग्रह गरेकी छन्।



