काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्व सत्तामा पुगेपछि विगतमा निर्माण भएका राजनीतिक भ्रम र अपेक्षाको वास्तविक परीक्षण सुरु भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले बालेन र रवि नेतृत्व सत्ताको जिम्मेवारीमा आउनुअघि राजनीतिक क्षेत्रमा विभिन्न प्रकारका आशा, सपना र भ्रमको प्रभाव रहेको बताएका छन्।
उनका अनुसार सत्ताको जिम्मेवारी सम्हालेपछि लोकप्रियतावादी राजनीतिको व्यवहारिक क्षमता र कार्यसम्पादन जनताले प्रत्यक्ष मूल्यांकन गर्ने अवस्था बनेको छ। यस प्रक्रियाले विगतमा निर्माण गरिएका राजनीतिक धारणामाथि वस्तुगत रूपमा समीक्षा गर्ने आधारसमेत तयार पार्ने उनको भनाइ छ।
पोखरेलले वर्तमान अवस्थालाई पूर्णतः नकारात्मक रूपमा मात्र हेर्न नहुने धारणा राख्दै यसबाट सकारात्मक परिणामका लागि समेत आधार बन्न सक्ने उल्लेख गरेका छन्।
उनले लोकप्रियतावादको वास्तविक सामर्थ्य भाषण, प्रचार वा जनअपेक्षामा नभई शासन सञ्चालनको जिम्मेवारी प्राप्त गरेपछि मात्र परीक्षण हुने बताएका छन्। सत्तामा पुगेपछि देखिने कार्यसम्पादन र परिणामका आधारमा त्यस्ता राजनीतिक दाबीको वास्तविक मूल्यांकन गर्न सकिने उनको तर्क छ।






