काठमाडौँ । नेपाली काँग्रेसका नि:वर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितका लागि आफू जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा पार्टीको संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले साझा उद्देश्य र संकल्प भएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि संवादको ढोका खुला राख्नुपर्नेमा जोड दिए। उनले मुलुक संकटमा रहेका बेला संवाद, सहमति र सहकार्यका माध्यमबाट राजनीति अघि बढाउनुपर्नेमा जोड दिनुभयो। राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चता आफ्नो जीवनको मूल आधार भएको भन्दै देउवाले यी मूल्य–मान्यताप्रति जीवनको अन्तिम समयसम्म अटल रहने बताए । उनले पार्टीभित्रको विवादमा सर्वोच्च अदालतबाट न्याय पाउने कुरामा आफू विश्वस्त रहेको पनि बताए ।
उनले भने, ‘मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु । साझा उद्देश्य र संकल्प भएका सबै राजनीतिक शक्तिहरुसँग सहकार्य गर्न छलफलको ढोका खोल्नुपर्छ । संकटमा संवाद, सहमति र सहकार्यमा हाम्रो राजनीति अगाडि बढाउनुपर्छ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र नागरिक सर्वोच्चतामा मेरो जीवनको मूल आधार हो । यी मूल्यमान्यताप्रति म जीवनको अन्तिम समयसम्म पनि अटल रहनेछु । हामीले व्यक्तिगतभन्दा पार्टीको सम्पूर्ण एकता, राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्छ ।’
नि:वर्तमान सभापति देउवाले व्यक्तिगत स्वार्थभन्दा पार्टीको सम्पूर्ण एकता र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिएका छन् ।






