काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवालाई आग्रह गरेकी छन् ।
मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक धारणा निर्माण गर्न आग्रह गरेकी हुन् ।
उनले आफूभन्दा भिन्न विचार राख्नेहरूलाई पनि सम्मान गर्न युवालाई आग्रह गरिन्। लोकतन्त्रको शक्ति आफूले राखेको विचार मात्र स्थापित गर्नुमा नभई फरक मतलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा दृष्टिकोण निर्माण गर्ने संस्कारमा रहेको उनको भनाई छ ।
उनले सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण आजको पुस्ता विगतका पुस्ताभन्दा बढी सूचना सम्पन्न भएको बताइन् । तर धेरै सूचना हुनु र सही ज्ञान हुनु फरक विषय भएको उनको भनाई छ । सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्ने क्षमता युवाका लागि आवश्यक रहेको उनको भनाई छ ।
उनले राजनीतिमा युवाको सहभागिता पनि अपरिहार्य रहेको बताइन् । निर्वाचनका समयमा मत माग्ने वा दिने कार्यमा मात्र युवालाई सीमित गर्न नहुने उनको भनाई छ । समाज बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा भूमिका खोज्ने तथा देशको विकास र परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रियाका रूपमा युवाको राजनीतिक सहभागिता अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।
उनले भनिन्, ‘कुनै पनि राजनीतिक विचार समय समयसँगै विकसित हुँदै जानुपर्छ । त्यसैले तपाईँहरू आफ्नो जिज्ञासा राख्नुस्, अध्ययन गर्नुस्, आफ्ना विचार व्यक्त गर्नुस्, अरूका विचार पनि सुन्नुस् र संवाद तथा बहसबाट आफ्नो धारणा निर्माण गर्नुहोस् । लोकतन्त्रको शक्ति आफूले भनेको कुरा मात्र स्थापित गर्नुमा होइन, फरक विचारलाई सम्मानपूर्वक सुन्ने र तर्क तथा तथ्यका आधारमा आफ्नो दृष्टिकोण निर्माण गर्ने संस्कारमा हुन्छ । आजको पुस्ता सामाजिक सञ्जाल, सूचना प्रविधि र विश्वव्यापी सम्पर्कका कारण विगतका पुस्ताभन्दा धेरै सूचना सम्पन्न छ । तर सूचना धेरै हुनु र सही ज्ञान हुनु एउटै कुरा होइन । त्यसैले सूचनालाई तथ्यसँग, भावनालाई विवेकसँग र आलोचनालाई रचनात्मकतासँग जोड्न सक्ने क्षमता आजको पुस्ताका लागि अत्यन्तै महत्वपूर्ण छ । राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन । राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन । समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने र देशको विकास तथा परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया हो । मदन भण्डारीको राजनीतिक यात्राबाट हामीले एउटा महत्वपूर्ण कुरा सिक्न सक्छौँ, राजनीति जनताबाट अलग भएर गर्न सकिँदैन । उहाँले जनताको भावना, आकांक्षा र वास्तविकतालाई राजनीतिक विचारसँग जोड्ने प्रयास गर्नुभयो । आज तपाईँहरूको पुस्ताले पनि आफ्नो समयमा आफ्नो समयका जनताको भावना, आकांक्षा र आवश्यकतालाई बुझ्दै देश र समाजलाई अघि बढाउने आफ्नो बाटो पहिल्याउनु आवश्यक छ ।’
उनले मदन भण्डारीका विचारलाई नयाँ पुस्ताले समय र बदलिँदो सामाजिक परिवेशसँग जोडेर अध्ययन तथा आत्मसात गर्नुपर्ने पनि बताइन् । लोकतन्त्रलाई थप प्रभावकारी र जनमुखी बनाउने, राज्यका संस्थालाई जवाफदेही तथा सक्षम बनाउने, राजनीतिमा युवाको सहभागिता र विश्वास बढाउने तथा शिक्षा र रोजगारीका अवसर विस्तार गर्ने विषयमा युवाले गम्भीर बहस गर्नुपर्ने उनको भनाई छ । देशमा परिवर्तनका अपेक्षा उच्च रहेको र युवामा नयाँ सोच तथा केही नयाँ गर्ने ऊर्जा रहेको उल्लेख गर्दै उनले उक्त ऊर्जा र उत्साहलाई देश तथा समाजको सकारात्मक परिवर्तनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन् । उनले युवालाई लोकतन्त्रप्रति प्रतिबद्ध, सामाजिक न्यायप्रति संवेदनशील, राष्ट्रिय हितप्रति सचेत, अध्ययनशील र जिम्मेवार नागरिक बन्न आग्रह गरिन् । नयाँ पुस्ताले नै देशको सुदृढ र उज्ज्वल भविष्य निर्माण गर्ने उनको भनाई छ ।






