काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायीलाई पक्राउ गरेर मात्रै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नसकिने बताएका छन् ।
काठमाडौंमा काठमाडौं अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले विश्वसनीय ढंगले काम गरेर त्यसको परिणाम देखाउनुपर्ने बताए । पूर्वगभर्नरसमेत रहेका उनले ग्रे लिस्टबाट बाहिरिने नाममा अनावश्यक रूपमा बैंकका कर्मचारी तथा बैंकरलाई पक्राउ गर्ने वा दबाब दिने कार्य गर्न नहुने बताए। अपराध पुष्टि नभएको अवस्थामा अदालतबाट छुट्ने भएकाले त्यस्ता कदमले अपेक्षित परिणाम नदिने उनको भनाइ छ । उनले ग्रे लिस्टबाट बाहिरिनका लागि अन्तर्राष्ट्रिय निकायले कार्यान्वयन र परिणाम खोज्ने बताए । त्यसको लागि सरकारले विश्वसनीय रूपमा काम गरेर परिणाम देखाउनुपर्ने उनको भनाई छ । ग्रे लिस्टबाट बाहिरिन नसके बैंकिङ प्रणाली, अन्तर्राष्ट्रिय व्यापार र पुँजी प्रवाहमा असर पर्ने उनले बताए। नेपाललाई विगतमा ग्रे लिस्टबाट बाहिर निकाल्न निकै कठिनाइ भोग्नुपरेको स्मरण गर्दै उनले सरकारले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले भने, ‘हामी यो घरजग्गाको मूल्य, सेयर बजार, यो त आन्तरिक चक्करमा परिरहेका छौँ । यदि हामी ग्रे लिस्टबाट निस्कन सकेनौँ भने बैंकिङ सिस्टममा के होला ? तपाईंहरूको इन्टरनेसनल ट्रेड के होला रु क्यापिटल फ्लो के होला रु ग्रे लिस्टबाट निस्कन भनेर बैंकरहरूलाई च्याप्पच्याप्पी पकडेर लगेर समातेर चाहिँ त्यो केही पनि हुँदैन, किनभने अपराध हुँदैन, अदालतले छुटाइदिन्छ । सरकारले क्रेडिब्ली काम गर्नुपर्यो र रिजल्ट देखाउनुपर्यो । त्यो रिजल्टको आधारबाट सरकारको मूल्याङ्कन हुन्छ ।’
नेपाल ग्रे लिस्टबाट बाहिरिनका लागि सरकारले आवश्यक सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ ।






