काठमाडौँ । मुलुकमा विद्युतियभार कसरी अन्त्य भयो, के छ यसमा जादु, लामो समयदेखि धेरैको मनका यही प्रश्न छ तर उत्तर सर्वसाधारणले सहज रुपमा पाएका छैनन् ।
सोमवार आयोजित कार्यक्रममा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका उच्च अधिकारीले विद्युत्भार कटौतीको अन्त्यको कारण एउटा कला र व्यवस्थापन भएको बताए । लामो समयसम्म विद्युत्भार कटौतीको मारमा परेका उपभोक्तालाई सात महिनादेखि विद्युत् गएको अनुभव गर्न पाएका छैनन् । सामान्य प्राविधिक समस्या हुँदा मात्रै एकाध समय विद्युत् जानु सामान्य हो, तर मुलुकभर नै विद्युत्भार कटौतीको अन्त्य भएको छ ।
मन्त्रालयले आयोजना गरेको ‘नियमित विद्युत् आपूर्तिले अर्थतन्त्रमा पारेको प्रभाव’ विषयको अन्तक्र्रियामा ऊर्जामन्त्री जनार्दन शर्माले नियमित रुपमा जनतालाई विद्युत् सेवा दिने विषयमा सरकारले प्रस्ट योजनाका साथ काम अगाडि बढाएको तथा माग र आपूर्तिको सन्तुलन मिलाएकालेसफलता हासिल भएको बताए । उनले भने, “२५ वर्षपछि ६।५ प्रतिशत आर्थिक वृद्धि हुनु सामान्य विषय होइन, हामीले चाह्यौँ भने धेरै गर्न सकिन्छ भन्ने आत्मविश्वास पैदा भएको छ ।”
पाँच वर्षमा जलविद्युत्को सेयर
ऊर्जामन्त्रीले आगामी पाँच वर्षभित्र हरेक नेपालीलाई एक लाख बराबरको सेयर प्रदान गर्ने गरी कार्ययोजना बनिरहेको बताए । उनले भने, “पैसा लगानी गर्न सक्नेलाई लगानीको आग्रह गर्ने, नसक्नेलाई श्रममार्फत सेयर दिने व्यवस्था गरिन्छ । त्यसको कार्ययोजना बनिरहेको छ । पहिलो चरणमा कर्णालीका जनतालाई एक लाखको सेयर प्रदान गरिने छ र क्रमशः सबैलाई सेयर प्रदान गर्ने गरी कार्ययोजना बनिरहेको छ ।”
‘नेपालको पानी जनताको लगानी’ योजनानुसार नै मुलुकभित्रैको साधन र स्रोत जुटाएर आगामी सात वर्षभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको बताउँदै मन्त्री शर्माले सरकारी तथा गैरसरकारी तहबाट भएका प्रयास र प्रयत्नले उक्त सफलता हासिल गरिने जानकारी दिए । पूर्वदेखि पश्चिमसम्म ६६५ केभीको प्रसारण लाइन र उत्तर दक्षिण तथा नदी कोरिडोर प्रसारण लाइनको कार्ययोजना अगाडि बढेको पनि उनले स्पष्ट पारे ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकभित्रका ठूला जलविद्युत् आयोजना साँझमा मात्रै चलाइएको तथा भारतबाट गत वर्षभन्दा ४५ मेगावाट मात्रै विद्युत् आयात गरेर आन्तरिक व्यवस्थापन गर्दा नै ठूलो उपलब्धि हासिल भएको बताए । प्राधिकरणले गत साउनदेखि हालसम्म चार प्रतिशत विद्युत् चुहावट घटाएको, पूर्ण क्षमतामा आयोजना सञ्चालनमा ल्याइएका कारण पनि काम गर्न सहज भएको उनले स्पष्ट पारे ।
कार्यक्रममा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले कार्यपत्र प्रस्तुत गरेका थिए । मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, डा. भोला रिजाल, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईँलगायतले सरकारले विद्युत्भार कटौती अन्त्य गरेर मुलुकमा नयाँ आशाको सञ्चार गरेको बताए ।
कार्यक्रममा नियमित विद्युत् आपूर्तिपछि होटल व्यावसाय सञ्चालनमा सहजता भएको, उद्योगको उत्पादन क्षमता बढेको, रोजगारीको अवसर बढेकाले आर्थिक क्षेत्रमा नै सकारात्मक प्रभाव परेको जानकारी दिइएको थियो । रासस







