चितवन । चितवनस्थित रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझाले आफूमाथि कालोमोसो दलेर जुत्ताको माला लगाईदिने ६ जनाविरुद्ध प्रहरीमा किटानी दिएका छन्।
सोही विश्वविद्यालयमा अध्ययनरत मिलन चौहान, सन्तोष खतिवडा, बामदेव रेग्मी, गोपाल थापा, सुसन पौडेल र विभोर गौलीविरुद्ध किटानी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जाहेरी परेकाको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन। बिहीबार उनीहरूले प्राध्यापक ओझालाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाईदिएका थिए।
ती विद्यार्थीले प्राध्यापक ओझामाथि १ महिनाको कोर्ष ४ दिनमा झारा टार्ने गरी सकाएको तथा विभिन्न वहानामा विद्यार्थीलाई दुख दिएको आरोप लगाएर मोसो दलेका थिए।
सो घट्ना राजनीतिक प्रतिशोधका साथ घटाएको भन्दै नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ, नेविसंघले आपत्ति जनाएका छन्।







