पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दिपक मनाङ्गेलाई अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।
कास्की जिल्ला अदालतले बिहीबार उनका नाममा पक्राउ पूर्जी जारी गरेको हो ।
मिलन गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनी बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेरै मनाङेविरुद्ध किटानी जाहेरी दिएका थिए ।
लेखनाथको भण्डारढिकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमै सांसद गुरुङले एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए ।
एन्फा कास्कीका अध्यक्ष गुरुङले बुधबार कास्की प्रहरीमा उनी विरुद्ध उजुरी दर्ता गरेको केही समयमै मनाङेले पत्रकार सम्मेलन गरी ठगलाई झापड हान्ने आफूलाई प्रहरीले पक्राउ गर्न नपाउने बताएका थिए ।