काठमाडौँ । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा नेपालबाट १७५ जना विदेशी नागरिक निष्कासनमा परेका छन्। गृह मन्त्रालयले सार्वजनिक गरेको त्रैमासिक प्रगति विवरणअनुसार साउनदेखि असोजसम्म उक्त सङ्ख्यामा विदेशी नागरिक निष्कासनमा परेका हुन्।
मन्त्रालयको सीमा तथा अध्यागमन शाखाको प्रगति विवरणमा साउनमा ५२, भदौमा ५९ र असोजमा ६४ जना विदेशी नागरिक निष्कासनमा परेको उल्लेख छ। तथ्यांक अनुसार तीन महिनामध्ये असोजमा सबैभन्दा धेरै विदेशी नागरिक निष्कासनमा परेका छन्।
विदेशी नागरिक निष्कासनको सङ्ख्या सार्वजनिक गरिए पनि उनीहरूलाई कुन कानुनी आधार र कस्ता कसुर वा उल्लंघनका कारण निष्कासन गरिएको हो भन्ने विवरण मन्त्रालयले खुलाएको छैन। निष्कासनमा परेकाहरू कुन-कुन देशका नागरिक हुन् भन्ने जानकारीसमेत उपलब्ध विवरणमा समावेश छैन।






