डोल्पा । डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । त्रिपुरा सुन्दरी नगरपालिका ३ मा पर्ने नादा भन्ने ठाउँमा भे १ च २४६४ नम्बरको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
बुधवार बिहान ७ : ३० बजे दुर्घटना भएको जिपका चालक ठुलीभेरी नगरपालिका ५ का २१ वर्षीय पञ्चे बुढाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
नादाको नजिकै सडकबाट करिब एक सय मिटर तल भेरीको किनारामा जिप खसेको थियो । उनको टाउकोमा लागेको चोटको कारण रगत धेरै बगेर मृत्यु भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
उनको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटना भने के कति कारणले भएको भन्नेबारे अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ । मृतक चालकको शव परिवारले बुझेर दाहसंस्कार गरेका छन् ।
जिपमा भने कुनै पनि यात्रु सवार नभएकाले अन्य कुनै क्षति भने भएको छैन । यो सहित डोल्पामा सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बिस नाघेको छ ।