काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दैनिक जीविका चलाउन नसकेर सहर छाडेर घर जान लागेका नागरिकलाई उचित व्यवस्थापन गर्न असफल देखिएको बताएका छन् । उनले भनेका छन् ‘दैनिक जीविका चलाउन नसकेर सहर छाडी आफ्नो घर आँगन पुग्न लागेको निरीह जन लस्करलाई सरकारले यथाशीघ्र उचित व्यवस्थापन गर्न असफल भएको देखिन्छ ।’
सङ्कट र संवेदनाको क्षणमा प्रहरी प्रशासनको सहयोगी भावमा पनि कमी आउँदै गरेको पूर्वराजा शाहको भनाई छ ।
‘सङ्कट र संवेदनाको क्षणमा प्रहरी प्रशासनको सहयोगी भावमा पनि कमी आउँदै छ । शासक वर्गले यस क्षणलाई गम्भीरता पूर्वक नलिनु जनमतको अनादर गर्नु सरह हो’ उनले भनेका छन् ।
पछिल्लो समय दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको ठुलो सङ्ख्यामा नागरिकहरू सहरी बसाई सकसपूर्ण भएपछि रातारात सयौँ किलोमिटर हिँडेर घर गई रहेका छन् ।