डोटी । डोटीको शिखर नगरपालिका वडा नम्बर ८ गोपघाटमा एक महिलाको हत्या गरिएको छ ।
शुक्रवार बिहान करिब ४ बजेतिर अन्दाजी ३० वर्षीया राजु दमाईको घरभित्र हत्या गरिएको प्रहरीले जनाएको छ ।
मृतक राजु र उनका श्रीमान् सँगै सुतिरहेको अवस्थामा उनको हत्या भएको भए पनि श्रीमान् कृष्ण आफू ट्वाइलेट गएको अवस्थामा श्रीमतीको हत्या भएको प्रारम्भिक बयानमा बताएको प्रहरीले जनाएको छ ।
उनको घाँटी र टाउकोमा गहिरो चोट लागेको छ । उपचारका लागि डडेलधुरा अस्पतालमा लगिएको र अस्पताल पुर्याएको केही बेरमै राजुको मृत्यु भएको तिलताली प्रहरी चौकीका इन्चार्ज सई नरेन्द्र टमटाले बताए । डडेलधुरा अस्पतालमै पोस्टमार्टम गरेर हिजो नै लास घरमा ल्याएको भए पनि मृतकका माइती पक्ष नपुग्दा आज मात्र दाह संस्कार भएको प्रहरीले जनाएको छ ।
घटना के कति कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । उनले भने ‘आशङ्कामा उनका श्रीमानलाई नियन्त्रणमा लिएका छौ, घटनामा अनुसन्धानको लागि म आफै गएको थिए, घटना के कसरी भयो,कसरी हत्या गरियो भन्ने कुरा जाहेरी आइ नसकेको र अनुसन्धानसमेत भइरहेका कारण भन्न सकिन्न पोस्टमार्टमको रिपोर्टसमेत हामी कहाँ आइपुगेको छैन १,२ दिन समय लाग्छ ।’
राजुका श्रीमान् कृष्ण दमाईलाई हत्या गरेको आशङ्कामा प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा कार्यालयमा राखिएको छ । मृतकका दुई छोरा र एक छोरी छन् ।







