जुका अर्थात् मानव वा अन्य प्राणीको रगत चुसेर बाँच्ने प्राणी । यो हिमाल, पहाड, तराई यत्रतत्र सर्वत्र पाइन्छ । हिमाली भेगमा त हिउँद वर्षा बाह्रैमास पाइन्छ भने पहाड र तराइमा सिमसार तथा ओसिलो ठाउँहरूमा पाइन्छ । सिमसार तथा ओसिलो ठाउँहरूमा चरनका लागि लगिएका घरपालुवा जनावर होस् वा जङ्गली जनावर किरा फट्याङ्ग्रा आदिको शरीरमा टाँसिएर जीवन यापन गर्न उत्पत्ति भएदेखि बानी परेको प्राणी अहिले रूप परिवर्तन गरेर कुर्सीमा टाँसिएर बस्न थालेका छन् ।
गाउँदेखि केन्द्रसम्मका कुर्सिया बुर्कुसी मारेर बस्न पुग्ने जुकाहरूको हिजोको र आजको हैसियत नियाल्ने हो भने कैफियत फेला पर्दछ । बुर्कुसी मारेर कुर्सीमा पुग्नेहरूले बाँकी जीवन कुर्सीमा जुको टाँसिए टाँसिएझैँ गरेर नै बिताउँला भन्ने ठानेका होलान् र हामीलाई पनि विभिन्न बहानामा जुकाले झैँ चुसिरहेका छन् । चुस्ने र चुसिनेहरूको जमात दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ । भनौँ यहाँ ठुलो माछाले साना माछाले खान्छ भनेझैँ ठुला जुकाले साना जुकालाई पनि चुसिरहेका छन् । चुस्नेहरूको झुण्डले चुसिनेहरूको झुण्डलाई अखण्ड भएर प्रचण्ड रूपमा चुसेका छन् । आमाको लाम्टो त चुसे चुसे अब बाउको घुँडो समेत चुसेर बाउलाई उठ्न नसक्ने गरी लडाएका छन्, आधुनिक जुकाहरूले ।
यी जुकाहरू पनि कोही उत्तर पन्थी छन् भने कोही दक्षिण पन्थी, त कोही पूर्व पन्थी, कोही भने पश्चिम पन्थी छन् । कोही आकाश पन्थी त कोही पाताल पन्थी पनि छन् । ब्रह्माजीले उत्पत्ति गरेका जुकाहरूभन्दा फरक रूपका यी जुकाहरू सधैँ भोकाई रहन्छन् । जनताको जति रगत चुसे पनि कहिल्यै नअघाउने कुर्सीमा टाँसिन मन पराउने जुकाहरूको रूप धारणको कुरा गर्ने हो भने कथित तेत्तीस कोटी देवगण र हजार जिब्रा भएका समाप्ति नाग (कथित शेषनाग)हरूले पनि भन्ने शब्द भेटाउँदैनन् । आफ्नो कृतिलाई किर्तिशेष पार्न आन्दोलनमा होमिएका यी विकृतिधारी जुकाहरूको आवागमनका कारण सुनको टुक्रा नेपालमा घुन लागेको कुरा सबैमा सर्व विविदै छ ।
नेपालमा रहेका साना ठूला सबै खाले कुर्सीमा टाँसिन पुगेका जुकाहरू कहाँ उम्रिए भन्ने कुराको नालीबेली असलीहरूले होइन झेली खेलीहरुले बुझेका छन् । नेपाल झेली खेलीहरुको क्रिडास्थल बनेको कुरा भौतिक शास्त्रीहरूले प्राकृत शास्त्रमा समेत उल्लेख गरेका छन् । ठुला जुकाले साना जुकाहरूको रगत चुस्ने र ठाउँको ठाउँ सुताएको सुतायै पार्ने अनि आफूहरू भुँडी फुलाएर घुर्ने संस्कार पनि हुर्केको छ नेपालमा । साना जुकाहरूलाई ठुला जुकाहरूले जुकै नगन्ने आफै मैमता भएर साना जुकाहरूको लादी भुँडी निकाल्ने र त्यो लादी भुँडी समेत हसुर्ने प्रवृत्तिको विकासले जरो गाँडेको छ, नेपालमा । न आँखा छ, न हात खुट्टा छ, न बोली चाली छ, केवल घस्रेर चाल मारेर हिँडेका भरले जुकाले नेपालको रगत पसिना चुसेर हाडछाला मात्र पारेको तथ्य हामीमा सर्वविदितै छ ।
कतिपय ठूला जुकाहरू ठुला जुकालाई नै आफ्नो बसमा पारेर दोहोलो काँढिरहेका छन् । तर साना जुकाहरूमा भने यो प्रवृत्ति नगन्य रूपमा मात्र देखिन्छ । साना जुकाहरू बढी ठूलाजुकाहरुबाट नै पीडित भएका छन् । ठुला जुकाहरूले सानाजुकाहरु प्रति देखाएको व्यवहारगत प्रवृत्तिको कुरा गर्दा पानी बाराबारको अवस्था समेत आएको छ, भने सानालाई प्राणी नै नमान्ने संस्कार समेत हुर्किँदै गएको देख्न र भोग्न सकिन्छ । एउटा कुर्सीमा बसेर जीवनभरि टाँसिइरहन खोज्नु र कुर्सीमा टाँसिएर वरपरका सबैलाई चुसेर खोक्रो पार्न सक्नु पनि जुकाको एउटा अद्भूत कला हो भन्ने निष्कर्षमा म पुगेको छु । साना हुन् वा ठुला चुस्ने कला नभएका जुकाहरू कुर्सीमा बस्नुको कुनै औचित्य नै छैन भन्दा पनि हुन्छ । अहिलेको घुसिलो र चुसिलो जमानामा । साना ठूला जुकाहरू आ–आफूमा लुछाचुँडी गरेर मर्न लागेका बेला पनि हाम्रो रगत पसिना चुस्न छाड्दैनन् । हाम्रो रगत पसिनाले बनाएको र किनेका कुर्सीमा टाँसिएर हामीलाई नै चुस्न पल्केका यी जुकाहरूलाई सुकेनास रोग लागेर जिउँदै भुँइमा लडेर छट्पटाएको हेर्न ठूलो इच्छा छ । भुँडी फुलाएर ठूला साना कुर्सीमा टाँसिने जुकाहरू समाजका कुना कुनामा बसेर दुनामा होइन भतेरे टपरीमा रुद्रघण्टीसम्म आउने गरी खाएर पनि चित नबुझेर कुर्सीको हात खुट्टासमेत चुस्न पछि पर्दैनन्, भन्या ।
‘साना कुर्सीमा बस्ने जुकाहरू पनि चुस्ने ठूला कुर्सीमा बस्ने जुकाहरू पनि चुस्ने, स्थानीय, प्रदेश र सङ्घीय कुर्सीमा बस्ने जुकाहरूले चुसेर खोक्रो बनाएको नेपालमा अब के नै बाँकी रहेको छ र पछि आउने जुकाहरूले चुस्नु ?’
पहिले पहिले जङ्गलतिर घाँस दाउरा गर्न जाँदा वस्तु भाउ चराउन जाँदा जुकाले चुस्थ्यो तर अहिले अड्डा अदालतमा काम गर्न गराउन जाँदा कुर्सीका जुकाहरूले चुसेर हैरान पार्छन् भन्या । साना कुर्सीमा बस्ने जुकाहरू पनि चुस्ने ठूला कुर्सीमा बस्ने जुकाहरू पनि चुस्ने । स्थानीय, प्रदेश र सङ्घीय कुर्सीमा बस्ने जुकाहरूले चुसेर खोक्रो बनाएको नेपालमा अब के नै बाँकी रहेको छ र पछि आउने जुकाहरूले चुस्नु ? यहाँ जुकाहरूले सुतेर चुसेका छन् । उठेर चुसेका छन् । बसेर चुसेका छन् । तातेर चुसेका छन्, चिसिएर चुसेका छन् । भनौँ कुर्सीमा बसेर जुकाहरूले कुर्सीलाई समेत चुसेर घाइते बनाएर कवाडखानामा मिल्काएका छन् । आफू टाँसिने कुर्सीलाई चुसेर कवाडखानामा मिल्काउने जुकाहरूलाई पनि चुस्ने प्राणीको उत्पत्ति ब्रह्माजीले गरेको जस्तो लागेन, मलाई त ? यदि ब्रह्माजीले उत्पत्ति गरेको भए यी कुर्सी समेत चुस्ने जुकाहरूलाई चुसेर सो प्राणीले कस्तो हालत पार्थ्यो होला ?
जुका साना गाउँदेखि ठूला शहरसम्म पुगेका छन् । जुकाहरू गाउँदेखि शहरसम्म घुसेर पस्छन् र चुस्छन् । अझै घुसिरहेका छन् । अझै चुसिरहेका छन् । चुस्दाचुस्दा हाड र छाला मात्र भएको दुई ढुङ्गाको बिचको तरुल हराउने अवस्थामा पुगेको छ । अब त हुँदा हुँदा छिमेकी समेत जुका भएर देखा परेको छ । छिमेकी जुका भएर यो तरुलको छेउ कुना मात्र होइन तरुलको भित्रभित्रै चुसेर छियाछिया पारेको छ । दुई ढुङ्गाको बिचमा चेप्टिएर, नेप्टिएर, घोप्टिएर, कोप्चिएर रहेको तरुललाई छिमेकीले जुका बनेर चुस्दा समेत हाम्रो आँखा उघ्रिन सकेको छैन । नाकले गन्ध थाहा पाउन सकेको छैन । कानले सुनेर पनि नसुनेझैँ गरेर बसेको छ । हाम्रा कतिपय जुकाहरू तरुलभित्रै घुसेर चुस्न लागि परेका छन् र चुसिरहेका पनि छन् । यो दृश्य हामी रमाइलो मानेर हेरिरहेका छौँ, तर तातो खरानी वा नुन हालिदिएर जुका मार्न सकेका छैनौँ ।
जुकाको नाम लिने बित्तिकै हामी मध्ये कतिपयको शरीर नै सिरिङ्ग भएर आउँछ । कतै शरीरमा टाँसियो भने रगत चुसेर खतम पार्छ र चुसेको ठाउँमा घाउ हुन्छ भनेर हामी सतर्क हुन्छौँ । तर अहिले देशैभरिका कुर्सीमा जुका लिसो लागेर टाँसिएको छ । त्यसलाई कुर्सीबाट हटाएर एकै छिन पनि अडिएर बस्न नसक्ने उपियाँ, फट्याङ्ग्रोलाई कुर्सीमा राख्न पाए धेरै कुरा सुधार हुन्थ्यो जस्तो लाग्छ । किनभने उपियाँ कुर्सीमा गयो भने त्यो कुर्सीमा कोही बस्न मान्दैनन् । शरीरभरी चढेर टोकेर हैरान पार्छ । अर्को फट्याङ्ग्रालाई पनि कुर्सीमा राख्यो भने बस्दैन किनभने उसको ध्यान सागपात तथा हरियो बालीनालीतिर नै जान्छ । तर एउटा कुरा केहो भने कुर्सीमा टाँसिएको जुकालाई भने उपियाँ र फट्याङ्ग्राले तह लाउँछ । उपियाँले जुकालाई टोकेर हैरान पार्छ भने फट्याङ्ग्राले पनि शिकार भेटे भनेर खुट्टाले चेपेर लान्छ । अझ भन्नु पर्दा महा परिश्रमी कमिलाले भेट्यो भने त जुकाको मिति नै पु¥याउँछ । हाम्रो तरुलमा टाँसिएको जुकालाई पनि अब कमिला नै भिडाउनु पर्ला जस्तो छ । कमिलाका लस्कर बोलाएर कुर्सीमा बसेका तस्कर जुकाहरूलाई तह लाइएन भने र छिमेकी जुकाको व्यवस्थापन गरिएन भने तरुल फस्टाउन सक्दैन ।
जुका घरदेखि राजनीतिक दलसम्म पुगेका छन् । तपाईँ हाम्रो घरमा त जुकाहरू छन् भने राजनीतिक दलहरूका कुर्सीमा समेत टाँसिन पुगेका छन् । जुकाहरू कुर्सीमा टाँसिएकै कारण बढेबढे विवादहरू सिर्जना भएका छन् । दलका जुकाहरू विगतदेखि वर्तमानसम्म कुर्सीमा बुर्कुसी मारेर टाँसिन चाहन्छन् । तर खस्रा जुकाहरूले टाँसिन दिएका छैनन् । चिप्ला जुकाहरू आफू बसेको ठाउँबाट चिप्लिन्छु कि भन्ने डरले जुकै टाँसिएझैँ गरी टाँसिएर बसेका छन् । खस्रे जुकाहरू चिप्ले जुकाहरूलाई चिप्ल्याउन लागि परेका छन् तर खै के तारतम्य नमिलेर हो खस्रेहरू रमिता हेरेर बसेका छन् । दलीय जुकाहरूका कारण तरुलको कुर्सी सङ्कटमा परेको सबैमा सर्व विविदै छ । राष्ट्रिय, क्षेत्रीय, स्थानीय जुकाहरूलाई चेतना भया ।







