काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शुक्रबार) अपरान्ह ४ बजे बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले बैठक आह्वान गरेका हुन्।
यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालय सदस्यहरू झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अनौपचारिक रूपमा छलफल गरेर बैठक बोलाउन अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखितरुपमै आग्रह गरेका थिए ।
अध्यक्ष ओली सचिवालय बैठक बोलाउन सहमत नदेखिए अर्का अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यहरु बैठक बसेर स्थायी कमिटी बैठक तय गर्ने पक्षमा रहेका थिए । ओली र प्रचण्डबीचको तिख्तताका कारण सचिवालय बैठकमा हुने छलफलका एजेण्डा भने निश्चित भइसकेको छैन ।
बैठकको एजेन्डा र छलफलका लागि प्रधानमन्त्री ओलीले बालुवाटार र अध्यक्ष प्रचण्डले खुमलटारमा हिजो आफू निकट नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका छन्। राजदूत नियुक्ति, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावलगायत कारण नेकपाभित्रको विवाद चुलिँदै गएको छ ।







