काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले राज्यका सबै अंगलाई आफ्ना निहित स्वार्थको आज्ञाकारी निकायका रूपमा रूपान्तरण गर्न खोजेको आरोप लगाएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रहरी, कर्मचारीतन्त्रलगायत राज्यका विभिन्न निकायमा कार्यरत व्यक्तिले राम्रो कार्यसम्पादन गरे पनि उनीहरूको व्यक्तिगत स्वार्थ पूरा हुन्छ कि हुँदैन भन्ने आधारमा व्यवहार गरिने अवस्था रहेको बताए ।
लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्था भएको उल्लेख गर्दै ज्ञवालीले जनमत प्राप्त गरेको सरकारले पनि लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासको पालना गर्नुपर्ने बताए । प्रतिनिधि सभाबाट आवश्यक कानुन पारित गर्नसक्ने अवस्था हुँदाहुँदै सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गरिरहेको भन्दै उनले यसले मुलुकलाई असहज परिस्थितितर्फ धकेलेको टिप्पणी गरे ।
नेता ज्ञवालीले दण्डहीनतालाई निरन्तर प्रश्रय दिइए प्रत्येक १० वर्षमा हिंसा र विध्वंशका माध्यमबाट सत्ता परिवर्तन गर्ने गलत नजिर स्थापित हुने चेतावनी दिए । नेपालले शान्तिपूर्ण आन्दोलनबाट २४० वर्ष लामो राजसंस्थाको अन्त्य गरेको र १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई शान्ति वार्तामार्फत समाधान गरेको उदाहरण प्रस्तुत गर्दै उनले नेपालले विगतमा शान्तिपूर्ण राजनीतिक परिवर्तनको दृष्टान्त स्थापित गरेको बताए ।
गत वर्ष हिंसा र विध्वंशको बाटोबाट सत्ता परिवर्तन भएको भन्दै उनले त्यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्न नसकिने बताए । निर्वाचनमा आफ्नो पार्टीलाई शून्य सिटमा झार्न सकिने तर त्यसका लागि निर्वाचन नै उपयुक्त माध्यम भएको उनको भनाइ छ । अहिले एमाले २५ र नेपाली काँग्रेस ३८ सिटमा रहेको उल्लेख गर्दै उनले निर्वाचनबाट पराजित भए पनि पाँच वर्ष कुर्न तयार रहेको बताए । तर कानुन हातमा लिएर देशका महत्त्वपूर्ण संरचनाहरू जलाउने र मुलुकलाई खरानी बनाएर गरिने परिवर्तनलाई कुनै पनि हालतमा उचित ठहर्याउन नसकिने उनले बताए ।
भदौ २३ र २४ गतेका घटनाले राष्ट्रिय भावनाको आधारलाई नै उल्ट्याउने अवस्था सिर्जना गरेको टिप्पणी गर्दै ज्ञवालीले राजनीतिक परिवर्तनका नाममा हिंसा र विध्वंशलाई वैधता दिन नहुनेमा जोड दिए ।







