काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले मंगलबार सिटी जुलुस निकाल्ने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको उक्त समूहले दिउँसो तीन बजेदेखि लैनचौरबाट जुलुस निकाल्ने भएको हो ।
जुलुस असन, इन्द्रोचकहुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ।
यस्तै, माघ १४ गतेदेखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय तथा प्रदेश सांसदले माइतीघरमा धर्ना दिने कार्यक्रम तय भएको छ। यसअघि पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।
घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित सहिदलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौँमा युवा र्याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौँमा वृहत विरोध प्रदर्शनलगायत छन् ।
यसैगरी तेस्रो चरणको संघर्षका कार्यक्रमअन्तर्गत प्रचण्ड–माधव समूहले माघ १५ मा बुटवलमा, माघ १६ मा विराटनगरमा, १७ मा धनगढीमा विरोध प्रदर्शन तथा सभा गर्ने भएको छ ।
यस अघि पुष ९ गते संसद विघटनविरुद्ध काठमाडौँमा वृहत शक्ति प्रदर्शन गरेको थियो। पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ।
संसद विघटनविरुद्ध मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।