काठमाडौँ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्ने भएको छ । कोरोना सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेकोले थप सङ्कट निम्तिन नदिन के गर्ने भन्ने बारेमा आज बैठक बस्न लागेको हो ।
कोरोना सङ्कट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन्।
यी तीनै जिल्लामा पाँच सयभन्दा बढी सङ्क्रमित छन्। काठमाडौँमा आइतबार एक हजार एक सयभन्दा बढीमा कोरोना देखिएको थियो।
यसै गरी आजदेखि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक काम नहुने भएका छन्। कोरोना जोखिम रहेकोले भिडभाड कम गर्न अत्यावश्यकबाहेक काम बन्द गरिएको छ।