म्याग्दी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले आपतकालीन कोष स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो ।
आजै शाखाका पदाधिकारी, सदस्य र सल्लाहकारहरुबाट कोषमा रु। एक लाख रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको कोषाध्यक्ष अमित विश्वकर्माले जानकारी दिए ।
‘पत्रकारका लागि पत्रकारहरुकै सहभागीतामा कोष स्थापना गरिएको हो’, अध्यक्ष पौडेलले भने, ‘कोषको रकम बढाउँदै लैजाने र व्याजबाट आवश्यकताका आधारमा कार्यविधि अनुसार पत्रकारहरुलाई सहयोग गर्छौ ।’
कोष परिचालन र सञ्चालन सम्बन्धी कार्यविधि तयार पार्न शाखाका सचिव सन्तोष गौतम, सहसचिव प्रमोद शर्मा र सदस्य सुदर्शनकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । विपद्, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित हुने पत्रकारलाई आकस्मिक रुपमा स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष पौडेलले बताए । शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले नयाँ कार्यसमितिको अल्पकालिन र दिर्घकालिन कार्ययोजना अनुसार पहिलो चरणमा आपतकालिन कोष स्थापना भएको बताए ।
बेनीमा मिडिया सेन्टर सञ्चालनको तयारी गरेको महासंघले बेनी नगरपालिकाले भाडामा उपलब्ध गराएको चार आना जग्गामा भवन निर्माणका लागि आर्थिक स्रोत जुटाउन प्रक्रिया अघि बढाएको छ । पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता र सिप विकासका लागि तालिम सञ्चालन गर्ने, हितकोष स्थापना र पत्रकारिता पुरस्कारको अक्षषकोष बनाउने योजना बनाएको छ ।







