प्रतिनिधि सभाको बैठक आज बस्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधि सभाको बैठक आज बस्दै


४ आश्विन २०७८, सोमबार


काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ ।

सोमबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ।

आजको बैठकबाट प्रतिस्थापन विधेयक पास गर्ने सम्भावना छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो।

एमालेको अवरोधबीच नै प्रतिस्थापन विधेयक पास गर्ने तयारी रहेको स्रोतको भनाइ छ। एमालेले केही समयदेखि निरन्तर प्रतिनिधि सभा बैठक अवरुद्ध गरिरहेको छ।

संसदमा देखिएको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली उक्त बैठकमा सहभागी भएका थिएनन्।

प्रमुख प्रतिपक्षी दलसँग संवाद गरेरै अगाडि बढ्न कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पटक पटक एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरे पनि निकास निस्किएको छैन।

एमालेले सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ। कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख सापकोटामाथि लगाइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस