काठमाडौँ । नेपाल चिकित्सक संघले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासम्बन्धी विवादले राष्ट्रकै गरिमामाथि गम्भीर आँच पुर्याएको बताएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराको राजीनामाको माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड मध्येको एक संस्था) नेपाल बार एसोसिएसनबाट गरिएको आन्दोलनप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको छ ।
संघले सोमबार जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतमा जारी समस्याको यथाशीघ्र समाधान निकालेर काम कारबाही सुचारु गर्न माग गरेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको इतिहासमा न्यायमूर्तिको रूपमा मानिएको सम्माननीय पदमा आसिन व्यक्ति विवादस्पद भई देशभरका सम्पूर्ण कानुन व्यवसायीहरू आन्दोलित भइरहेका छन् । जसका कारण कानुनी राज्य र विधिको शासनमाथि नै अवरोध सिर्जना भई न्याय सम्पादनमा देखिएको अवरोधले समग्र राष्ट्रकै गरिमामाथि गम्भीर आँच पुर्याएको नेपाल चिकित्सक संघको ठहर छ ।’
सर्वोच्च अदालतमा जारी विवादको समाधान गर्नका लागि सहज र शान्तिपूर्ण वातावरण सिर्जना गर्न पनि सरकारसँग संघले माग गरेको छ । ‘कानुनी राज्य र विधिको शासन लागु गर्ने सम्मानीत अदालतको गरिमालाई जोगाउनका निम्ती नेपाल सरकारले सहज र शान्तिपूर्ण वातावरण सिर्जना गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकालेर सम्मानीत सर्वोच्च अदालतको काम कारवाही अबिलम्ब सुचारु गर्न नेपाल सरकार लगायत सरोकारवाला निकायसँग नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ,’ संघले भनेको छ ।