काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले महाअभियोगको विषयमा आफूसँग गठबन्धनले कुनै सल्लाह नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।
जसपा प्रवक्ता डम्बर खतिवडाले गठबन्धनले यस विषयमा छलफल नभएको बताए ।
‘हामीले बिहान ८ बजेतिर जानकारी प्राप्त गरेका छौँ । तर यस विषयमा हामीसँग कुनै सल्लाह भएको छैन । यस विषयमा हामी जानकारी खोजिरहेका छौँ’ खतिवडाले भने, ‘यसले ल्याउन सक्ने साइड इफेक्टसहितको विषयमा छलफल हुने छ । के कारणले ल्याइएको हो त्यो बुझेपछि थप प्रतिक्रिया आउँछ ।’
खतिवडाका अनुसार २ महिनाअघि कानुन व्यवसायीहरूले महाअभियोगको विषयमा छलफल गर्न आएका थिए । तर त्यस बेला आफूहरूले अदालतको विषयमा प्रवेश गर्दा नराम्रो हुने सुझाव दिएको उनले बताए । ‘त्यस समयमा अदालतको विषयमा प्रवेश गर्दा राम्रो नहुने सुझाव दिएका थियौँ,’ उनले भने ।
आज (आइतबार) काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेका हुन्। दर्तासँगै प्रधानन्यायाधीश जबरा निलम्बित भएका छन् ।