सिद्धार्थनगर । बहुप्रतिक्षीत राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको लागि क्यालिबेरेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) भएपछि चौतर्फीरुपमा खुसी भएको छ ।
आज दिउँसो विमानस्थलमा एरो थाइको १७ सिटे सानो जहाजले क्यालिबेरेशन फ्लाइट सुरु गरेको हो । क्यालिबेरेशन फ्लाइट भएको खबर पाएसँगै पर्यटन व्यवसायी मात्रै होइन, लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दा पनि खुसीले गद्गद् भएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेले भने, ‘यतिका वर्षको प्रतीक्षाको घडी सकिएको छ । हामी अत्यन्तै खुसी छौँ, कोभिड–१९ का कारण क्यालिबेरेशन फ्लाइट हुँदैन की भन्ने चिन्ता थियो । अब आज क्यालिबेरेशन फ्लाइट भएको छ । यो सकिएपछि टेस्टिङ फ्लाइट हुने र कर्मसियल फ्लाइट पनि हुनेछ ।’
अध्यक्ष न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएसँगै निजी क्षेत्र मात्रै नभएर समग्र मुलुकवासी र देश नै लाभान्वित हुने बताए । यसअघि गएको माघ १५ गते शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै फागुन ९ गते क्यालिबेरेशन फ्लाइट गर्ने गरी तयारी भइरहेको बताएका थिए । मन्त्री आलेले भनेको समयभन्दा तीन दिन अगाडि क्यालिबेरेशन फ्लाइट भएपछि पर्यटन व्यवसायी पनि खुसी भएका छन् ।
नेपाल ट्राभल एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेश प्रमुख सागर अधिकारीले भने, ‘भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानले सिङ्गो मुलुकको पर्यटन क्षेत्रमा महत्त्वपूर्ण टेवा दिनेछ । मन्त्रीले भनेको समयअगावै जुन ढङ्गले क्यालिबेरेशन फ्लाइट हुँदै छ, सोहीअनुसार नियमित उडान हुने पनि हामी पर्यटन व्यवसायी अपेक्षा गर्दछौँ ।’
यसैगरी सिद्धार्थ होटल एसोसिएसनका उपाध्यक्ष किशोर श्रेष्ठले क्यालिबेरेशन फ्लाइट भएसँगै होटल क्षेत्रमा पनि खुसीको सञ्चार भएको बताए । उनले भने, ‘विश्वका विभिन्न मुलुकका पर्यटक लुम्बिनी क्षेत्रमा आउन हवाई यातायातको सिधा सहजताले लुम्बिनी क्षेत्रका होटल व्यवसायी खुसी भएका छन् । यही विमानस्थललाई देखेर यहाँ अर्बौँ लगानीमा तारे होटल निर्माण भइरहेका छन् । हामीजस्ता पर्यटन व्यवसायीको लागि खुसीको विषय हो, अब नियमित उडान छिटो होस् भन्ने हाम्रो कामना छ ।’
सन् २०१५ को जनवरीबाट स्तरोन्नति सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज उड्ने भएपछि कोरोनाले तहसनहस पारेको पर्यटन क्षेत्रको पुनरुत्थानमा ठुलो सहयोग पुराउने अग्रज पत्रकार चेतन पन्तले विश्वास व्यक्त गरे । नागरिक अगुवाको संस्था विएमजीका अध्यक्ष संस्थापक विजय सागरले लुम्बिनी क्षेत्र त्यसमा पनि भैरहवावासीको लागि क्यालिबेरेशन फ्लाइटले खुसी दिएको बताए । स्थानीय बासिन्दासमेत रहेका सागरले भने, ‘हामी जस्ता स्थानीयवासी र लुम्बिनी क्षेत्रका आम नागरिक यतिबेला खुसी भएका छौँ । विश्वका विभिन्न देश जान काठमाडौँ जानै पर्ने बाध्यताबाट अब मुक्त हुने बाटो तय भएको छ ।’
थाइल्यान्डदेखि नै आवश्यक ७ सदस्यीय प्राविधिक टोलीसहित बिहीबार दिउँसो एरो थाइको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको भएता पनि क्यालिबेरेशन फ्लाइट भने आज मात्रै गरेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । उनले भने, ‘आजदेखि क्यालिबेरेशन फ्लाइट सुरु भएको छ । यो काम १५ गतेसम्म हुनेछ ।’
क्यालिवेरेशन फ्लाइट अवधिभर विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र सैनिक सुरक्षामा रहने महाप्रबन्धक दाहालले बताए । विमानस्थल परिसरमा दक्ष चिकित्सकसहितको एम्बुलेन्स, प्रहरी र सेनाको सुरक्षा तैनाथी, एटिसी, फायर सबै तयारी अवस्थामा रहेको उनको भनाइ छ । एरो थाइको जहाजले आजदेखि क्यालिबेरेशन भइरहेको र त्यस क्रममा विभिन्न उपकरण चेकजाँज हुने विमानस्थल आयोजना आइसीपी टू का योजना प्रमुख प्रवीन न्यौपानेले बताए । उनले भने, ‘राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थलमा भौतिक निर्माणको काम सम्पन्न भई उपकरणको काम सिद्धिएर त्यसपछि फाइनल टेस्टिङ एन्ड कमिस्नीङका लागि ग्राउन्ड टेस्ट सकिएपछि फ्लाइट टेस्टका लागि एरो थाइको जहाज आइपुगेको छ । आजदेखि यसले सातदेखि १० दिनसम्म निरन्तर फ्लाइट टेस्टको काम गर्नेछ ।
योजना प्रमुख न्यौपानेले भने, ‘आजदेखि क्यालिबेरेशन फ्लाइटमार्फत उपकरण चेकजाँच भइरहेको छ । त्यसपछि क्यालिबेरेशन फ्लाइटको क्रममा सबै उपकरण ठिक छ भने रिर्पोट प्राप्त गरेपछि हामीले सूचना जारी गर्छौँ । त्यसको ५६ दिनपछि कर्मसियल फ्लाइट हुन्छ ।’ क्यालिबेरेशन फ्लाइटमा खासगरी जहाजको उडान र अवतरणका लागि आवश्यक उपकरण जडान (आइएलएस), जहाजको स्थिति, लोकेसन, र सञ्चार (डिभिओआर/डिएमई), सञ्चार उपकरण (भिएचएफ रेडियो), एचएफ सिस्टम, एटिसी कन्सोल, एमएचएस, भिसिसिएस, एटिस सिस्टम, अटोमेटिक वेदर अबजरभेसन सिस्टम गरी मुख्य १० किसिमका परीक्षण हुनेछन् ।
एरो थाइको जहाजसँगै एरो थाई टिम ग्राउन्डमा रहनेछ । सबै चेकजाँच गरेपछि मात्रै उक्त टिम फर्किने छ । एरो थाइले क्यालिवेरेशन फ्लाइट गरिसकेपछि टेस्ट फ्लाइट नेपाल एअरलाएन्सको ३३० ले गर्नेछ । क्यालिबेरेशन फ्लाइटको लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । यदि मौसममा प्रतिकूलता आएमा केही दिन ढिलाइसमेत हुन सक्नेछ ।
विसं २०२३ देखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ । २०६१ साल अघिसम्म ८४ बिघा तीन कट्ठा रहेकोमा यतिबेला १० हजार ५०० रोपनी पुगेको छ । जग्गाको क्षेत्रफलको हिसाबले यो नेपालकै ठुलो क्षेत्रफलमा फैलिएको विमानस्थल हो । अहिलेसम्म पोखरामा तीन हजार ७०० रोपनी, काठमाडौँमा सात हजार रोपनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालन भइरहेका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाउ)को कोड फोर इका अनुसार तीन हजार मिटर धावनमार्ग भएको विमानस्थलमा बोईंग ७७७, एअबर बस ३३० सम्मका जहाज सहजै उडान र अवतरण हुनेछन् । गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रियस्तरको बन्ने कार्य सुरु हुनुमा मुख्यतया: बुद्ध जन्मस्थल लुम्बिनी भएको देखिन्छ । एडिबीको दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मध्यनजर गरी भैरहवा विमानस्थलमा लगानी गर्ने प्रतिबद्धता गरेको हो ।
विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यमा सुरुआती चरणमा एडिबीले ४० दशमलव पाँच प्रतिशत, साउदी अरबको साउदी फन्डबाट (ओएफआइडी) ३० दशमलव पाँच प्रतिशत, एडिबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत तथा करसमेत लागत बेहोेर्ने गरी निर्माण कार्य सुरु भएको हो । काम सुरुआत गर्दा यो अनुपात भए तापनि थप रकम आवश्यक पर्दा नेपाल सरकारको ३७ दशमलव चार र बाँकी एडिबीको ऋण सहयोग हुने बताइएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसीपी वान र टु गरेर रु साढे सात अर्ब लगानी भइसकेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।







