काठमाडौँ । राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दु राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाउने बताएका छन् ।
यहाँ आज आयोजित पार्टी घोषणा कार्यक्रममा अध्यक्ष थापाले राजसंस्थालाई सम्मान तथा जनतामा केन्द्रित संवर्द्धनवादको चिन्तनलाई प्राथमिकतामा राखेर क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।
उनले मुलुकमा विसं २००७ देखि अहिलेसम्म विभिन्न राजनीतिक प्रणालीका साथै आधा दर्जन संविधान प्रयोग भइसकेको भए पनि स्थायित्व हुन नसकेकाले जनताको जीवनस्तर परिवर्तन हुन नसकेको बताए । अध्यक्ष थापाले विविधताले भरिएको देशमा सबै जाति समुदायका मौलिक संस्कृतिको संरक्षण गरी सनातन हिन्दु राष्ट्र कायम गर्न सकेमा मात्र राष्ट्रिय एकता बलियो हुने विचार व्यक्त गरे ।
विगतमा पार्टी ठुलो बनाउने नाममा आफूले अस्वाभाविक सम्झौता गरेकामा पश्चात्ताप व्यक्त गर्दै उनले भने, ‘मैले राप्रपा फुटाएको छैन, राप्रपा सैद्धान्तिक रूपमा विचलित भएको छ, जीवन्त राष्ट्रवादी शक्तिको खाँचो छ ।’
अध्यक्ष थापाले विगत पाँच वर्षको अलमलले पार्टीको पहिचान गुमेकाले आफूहरू भूमिकाविहीन भएको प्रस्ट पारे ।