काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आउँदो चुनावमा नेपाली काँग्रेस र नेकपा एमाले बोरामा पैसा बोकेर चुनावमा जाने दाबी गरेका छन्। उनीहरूको चरित्रै त्यस्तै भएको र यसअघि जितेका क्षेत्रमा पनि पैसाकै धाकमा जितेको उनको दाबी थियो।
नेकपा एसको इलाम–काठमाडौँ जनसम्पर्कको राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘काँग्रेसले चुनावमा बोरामा पैसा बोकेर जान्छ। उसको चरित्र त्यस्तै हो। हामी सबै जितेर आएका छौँ भनिराछन् नि, त्यो सबै धाक पैसाको हो ।’
उनले इलामबाट आफूलाई हराउन काँग्रेस र एमालेको बैठक नै बसेको दाबी गरे। उनले भने, ‘एक दिन काँग्रेस नेताहरूको बैठक बस्यो। बैठकमा कसलाई हराउने भन्दा एक नम्बरमा झलनाथ खनाललाई हराउने। अर्को एक दिन एमालेको पनि बैठक बस्यो। त्यहाँ पनि इलाम क्षेत्र १ बाट मलाई हराउने सल्लाह भयो । ’
उनले चुनावी तालमेल नेतृत्वको चाहनाअनुसार हुने बताए। उनले भने, ‘कतिपय साथीहरूले एकताबद्ध भएरै चुनावसम्म जाने भन्नुभएको छ। तर नेतृत्वले जे भन्छ त्यही हुने हो। सम्भव भएको ठाउँमा एक्लै जाने हो ।’
गठबन्धन बनाउँदा धेरै सिट जित्ने गरी बनाउनुपर्ने उनको धारणा थियो। खनालले भने, ‘कतिपय ठाउँमा एकता गरेर बढी सिट जित्ने गरी अघि बढ्नुपर्छ। सिट जित्ने कुरालाई महत् वका साथ लैजानुपर्छ ।’







