काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केही दलका नेताले राजनीतिलाई पेसा व्यवसाय बनाएका कारण यसप्रतिको विश्वास घट्दै गएको बताएका छन् ।
आज (शुक्रबार) काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा व्यवसाय बनाउनेहरु नराम्ररी पराजित हुने पनि बताए ।
उनले अब राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरु काँग्रेस, एमाले माओवादीको कित्तामा हुने र देश यथास्थितिमा राख्नुहुँदैन भन्नेहरु आफ्नो पक्षमा रहने धारणा राखे ।
त्यस्तै उनले नेपालमा उत्पादन हुने बिजुली विदेशमा बेच्ने नभई मुलुकमा नै खपत गर्नुपर्ने उल्लेख गरे ।
बिजुलीको अधिकतम प्रयोग गर्न सक्ने मुलुक विकासको बाटोमा अघि बढ्ने र रोजगारी पनि बढ्ने उनको भनाई छ ।
उनले मुलुकको हितमा काम गर्न सक्ने राप्रपा बाहिरका व्यक्तिलाई पनि स्थानीय तहको निर्वाचनमा अवसर दिइने बताए ।
कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्ताहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।







