काठमाडौँ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक मृत भेटिएका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भई विराटनगर बस्दै आएका २७ वर्षीय विजय यादव मृत भेटिएका हुन् ।
उनी नोबेल अस्पतालको हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत थिए । उनी विराटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलमा डेरामा बस्दै आएका थिए ।
डेरा बसेको घरको कम्पाउन्डभित्र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा यादवको शव फेला परेको प्रहरीले बताएको छ । नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार यादवको शव देखेपछि स्थानीयले शनिवार बिहान प्रहरी र अस्पताललाई घटनाको जानकारी गराएका थिए ।
मृतकका आफन्तले हत्या भएको आशङ्का गरेका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको बताए ।
घटनास्थलमा रहेको शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको उनले बताए । पोस्टमार्टमपछि थप विषय खुल्ने उनले बताए ।







