काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विभाजन गरेर हुँदा खाँदाको सरकार ढाल्ने शक्तिसँग गठबन्धनको सम्भावना नरहेको बताएका छन्।
भरतपुरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले एमालेसँग गठबन्धनका लागि छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका नेताहरूको भनाइ झुटो रहेको बताए।
माओवादी नेता वर्षमान पुनले आत्मालोचना गरे एमालेसँग गठबन्धन हुन सक्ने अभिव्यक्ति दिएका थिए।
‘जसले पार्टी विभाजन गरेर हुँदा खाँदाको कम्युनिस्ट सरकार ढालेर अपराध कर्म गर्यो त्यो शक्तिसँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘दुई पार्टीका नेताहरूका बिचमा भेटघाट हुन सक्छ, भेट हुँदा राजनीतिक विषयमा कुरा, समीक्षा हुन सक्छ तर गठबन्धनका लागि छलफल चलेको भन्ने कुरामा सत्यता छैन।’
उनले प्रचण्डले लगाउने कुनै पनि छलाङको विषयमा एमाले जानकार रहेकाले त्यसबाट प्रभावित नहुने बताए। उनले प्रचण्डको पार्टी कब्जाको मानसिकताका कारण पार्टी फुटेको दाबी गरेका थिए।
पोखरेलले एमालेले स्थानीय तहको निर्वाचनका लागि कुनै पनि दलसँग गठबन्धन नगर्ने नीति लिएको बताए। ‘स्थानीय स्तरमा स्थानीय आवश्यकताअनुसार कतै तालमेल हुन सक्ला तर गठबन्धन गरेर जाने नीति पार्टीको छैन,’ उनले भने।
उनले पाँच दल मात्रै नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि प्रतिस्पर्धा गर्ने हैसियत नेकपा एमालेसँग भएको बताए। ‘पार्टीले गरेका र गर्ने कामको आधारमा जनताको विश्वास जित्ने हो,’ उनले भने, ‘गठबन्धन छ भनेर हामीलाई कुनै चिन्ता छैन।’
पोखरेलले प्रधानमन्त्रीले भारत भ्रमणमा गएर चुच्चे नक्सालाई बुच्चे बनाएर फर्किएको टिप्पणी गरेका थिए। प्रधानमन्त्रीको भ्रमण भारतप्रति भक्तिभाव देखाउनमा सीमित बनेको दाबी गरे।






