गलकोट । लामो समयदेखि स्तन क्यान्सरबाट पीडित बागलुङ नगरपालिका–८ का मिनाकुमारी हमाललाई पाँच लाख सात हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
जापानमा रहेका नेपालीहरूबाट र नेपालमामा समेत चलाइएको सहयोग सङ्कलन अभियानबाट जुटेको उक्त रकम क्यान्सरपीडित मिना हमालको घरमै पुगेर आज हस्तान्तरण गरिएको हो ।
आर्थिक रूपमा कमजोर रहेको ५५ वर्षीया मिनाको आर्थिक अभावमै उपचारमा समस्या भएपछि सहयोग सङ्कलन अभियान चलाइएको थियो ।
भरतपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको भए पनि आर्थिक समस्याले अहिले गाउँमै छिन् । हमालको उपचारका लागि गलकोटमा जन्मेर जापानमा कर्मथलो बनाएका नेपालीहरूबाट सङ्कलित तीन लाख ८१ हजार ८९७ र नेपालमा सङ्कलित एक लाख १८ हजार ११० गरी पाँच लाख सात हजार रकम हस्तान्तरण गरिएको छ ।
गलकोट समाज जापानअन्तर्गतको मानवीय सेवा विभागअन्तर्गतका संयोजक रतनसिंह भण्डारी, जापानमै रहेका मीनराज खत्री मिलन, श्याम शर्मा, गीता सुवेदी तथा खरुवा समाजका अध्यक्ष गगन सिंह खत्रीको सक्रियता र समन्वयमा उक्त रकम सङ्कलन गरी पठाइएको थियो । नेपालमा सञ्चालन गरिएको सहयोग अभियानमा गोविन्दप्रसाद शर्मा, शर्मिला मल्ल शर्मा र उजेली खड्का मल्लले सक्रिय रूपमा सहयोग गरेका थिए । सहयोग अभियानको स्थानीय संयोजन गलकोट समाज बागलुङका सदस्य ललिता थापा र राज थापाले गरेका थिए ।
उक्त सहयोग रकम बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष जितबहादुर जिसी राजनको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरणपछि बोल्दै वडाध्यक्ष जिसीले माइती गाउँलेहरूको सक्रियतामा सङ्कलन गरिएको रकमले पीडितको उपचारमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । आर्थिक सहयोग पाएसँगै मिना हमाल पुनः भरतपुर क्यान्सर अस्पताल जाने तयारीमा रहेकी छिन् ।







