काठमाडौँ । युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरे मात्र समाजले समृद्धिको मार्ग पहिल्याउन सकिने आवश्यकता औँल्याइएको छ ।
नयाँ वर्ष २०७९ को उपलक्ष्यमा सुडी समाज काठमाडौँ, युवा उपसमितिद्वारा आज यहाँ आयोजित ‘शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन’ कार्यक्रमका वक्ताले सुडी समुदायका युवालाई स्वरोजगार, उद्यमशीलता, नवप्रवर्तन र सीप विकासका माध्यमबाट समाज निर्माणको मूल प्रवाहमा समाहित गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
उनीहरूले भने, ‘समाजको अग्रगामी रूपान्तरणका लागि युवामैत्री नीति अवलम्बन गर्नुपर्ने र उनीहरूको सहभागिता, परिचालन र नेतृत्व विकास गर्नुपर्ने आजको आवश्यकता हो ।’
सो अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ नेपालका नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सामाजिक सङ्घसंस्थाले समाजको रूपान्तरणका लागि कार्य गर्नुपर्ने बताउँदै समाजमा देखिएको विकृति विसङ्गतिको न्यूनीकरण गरी सबल, सक्षम र सुदृढ समाज निर्माणका लागि अग्रसर हुन युवालाई आग्रह गरे ।
सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने उल्लेख गर्दै उनले मानवीय र सामाजिक सेवाबाट मात्र आत्मसन्तुष्टि हुने बताए ।
सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले सुडी समुदायको सशक्तीकरण, हक अधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवर्द्धनका लागि सशक्त समाज निर्माण गर्नुपर्ने बताउँदै समाजका सबै सदस्यबिच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी समृद्ध समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना गरे ।
सुडी समाज महासङ्घ नेपालको सल्लाहकार द्वय वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र इन्जिनियर ओमप्रकाश महतो, सुडी समाज काठमाडौँको सल्लाहकार द्वय विश्वनाथ साह र जय शङ्कर महतो, अध्यक्ष डा अशोक महासेठ र महासचिव शीतल प्रसाद महतोले समाजको संस्थागत विकास र उन्नयनका लागि यस समुदायका सबै पक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै समाजभित्रको यथार्थलाई आत्मसात् गरेर यसको विकास र विस्तारमा युवाले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यमा निर्वाचित भएका मिर्चैय-६ सिरहाका डा गुरु शरण साह र अमेरिकाको कोलगेट विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा पूर्ण छात्रवृत्ति पाउने जनकपुरधाम-१५ धनुषाका राघवराज साहलाई प्रशंसा पत्रद्वारा सम्मान गरियो ।
त्यस्तै ‘सुडी समुदाय काठमाडौँको दुई दशक: स्मारिक-२०७९’ को पनि विमोचन गरियो । युवा उपसमितिका संयोजक इन्जिनियर रामस्वरुप महासेठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सुडी समाज काठमाडौँका उपाध्यक्ष डा. रामनन्दनप्रसाद चौधरीले समाजको संस्थागत विकासका लागि सम्बन्धित सबै पक्षको सक्रिय सहभागिता, समन्वय र सहयोग अपरिहार्य भएको बताए ।






