काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना महामारीका कारण चीनबाट बिचैमा पढाइ छाडेर स्वदेश आएका नेपाली विद्यार्थी फर्काउने विषयमा छलफल भइरहेको बताएकी छिन् ।
बिहीबार चिनियाँ दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत होउले नेपाली विद्यार्थीलाई क्रमशः फर्काइने बताएकी हुन् ।
उनले भनिन्, ‘दुवै देशका परराष्ट्मन्त्रीबीच पनि यस विषयमा छलफल भएको छ । दुवै देशका अधिकारीहरू पनि छलफल भइरहेको छ । यसमा क्रमशः काम हुन्छ । विश्वविद्यालयहरू सम्बन्धित विद्यार्थीहरू सम्पर्क हुनुहुन्छ । कोभिड १९ को महामारीको कारण चीनमा पनि अनलाइन कक्षाहरू भइरहेका छन् । मेरो चीनमा रहेको छोरा पनि स्कुल जान पाएको छैन ।’ उनले हवाई सेवा बन्द रहेको कारण पनि अहिले फर्काउन कठिनाइ रहेको बताइन् ।
कोरोना महामारीका कारण बिचैमा पढाइ छाडेर नेपाल फर्किएका ९ सय ६१ विद्यार्थीले बाँकी अध्ययनका लागि चीन फर्कन पाउनुपर्ने भन्दै शिक्षा मन्त्रालयमा आवेदन दिएका छन् । आवेदकमध्ये मेडिकल र इन्जिनियरिङका विद्यार्थी धेरै छन् । शिक्षा मन्त्रालयले पढाइ पूरा गर्न नपाएर अलपत्र परेका विद्यार्थीसँग आवेदन माग गरेको थियो ।
महामारीका बेला घर आएका नेपाली विद्यार्थीले इन्टर्नसिपलगायत बाँकी कोर्स पूरा गर्न पाएका छैनन् । चीनले प्रवेशमा रोक लगाएकाले उनीहरू सम्बन्धित विश्वविद्यालय र शिक्षण संस्थामा फर्कन नपाएका हुन् ।
तीन साताअघि चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा विद्यार्थीको समस्याबारे कुरा उठेको थियो । परराष्ट्र मन्त्रालय र विदेश मन्त्रीको भ्रमण टोलीबिच विद्यार्थीको समस्या प्राथमिकताको आधारमा समाधान गर्ने सम्झौतासमेत भएको छ ।







