बागलुङ । सत्ता साझेदार दलका साझा उम्मेदवार वसन्तकुमार श्रेष्ठले यस पटकको चुनावमा पनि बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का जनकराज पौडेलको सामना गर्नुपर्ने भएको छ ।
विसं २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी बनेका थिए । पौडेलले ११ हजार ६१४ र श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गरेका थिए ।
नेपाली काँग्रेसले पुनः श्रेष्ठ र एमालेले पौडेललाई उम्मेदवार बनाएपछि पुरानै प्रतिद्वन्द्वी आमनेसामने भएका हुन् ।
पाँच दलीय गठबन्धनका तर्फबाट श्रेष्ठ अघि बढेका हुन् भने एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर पौडेललाई चुनावी मैदानमा उतारेको हो ।
विसं २०७४ को चुनावमा बानपामा एमाले–राष्ट्रिय जनमोर्चा र राप्रपाले गठबन्धन गरेका थिए । काँग्रेस एक्लै चुनावमा होमिएको थियो ।
यो चुनावमा काँग्रेससँग नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तालमेल छ ।
सत्ता गठबन्धनका तर्फबाट उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्का र एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका सञ्जय खड्काको उम्मेदवारी परेको छ ।
विसं २०७४ को चुनावमा एमाले–राजमो–राप्रपा गठबन्धनबाट राप्रपाका सुरेन्द्र खड्का उपप्रमुखमा विजयी भएका थिए ।
सोही गठबन्धनले नगरका ११ वडामा जीत निकालेको थियो भने काँग्रेस जम्मा तीन वटा वडामा मात्र विजयी बनेको थियो ।
अहिले वडामा पनि गठबन्धन दल र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका दलले वडा तहसम्मै तालमेल गरेर चुनाव लड्दै छन् ।
जिल्लाका अरु स्थानीय तहमा पनि कतिपय दलले पहिलेकै प्रमुख–अध्यक्षलाई पुनः उम्मेदवारमा दोहोर्याएका छन् । विसं २०७४ को चुनावमा पराजित भएका पनि फेरि उम्मेदवार बनेका छन् ।
काँग्रेसले गलकोट नगरपालिकाको प्रमुखमा यसअघि प्रमुख रहेका भरत शर्मा गैरेलाई फेरि उम्मेदवार बनाएको छ ।
यस्तै तमानखोला गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर जोकलाल बुढा पुनः काँग्रेसको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका छन् ।
एमालेले पनि बागलुङ र ढोरपाटन नगरपालिकामा पुरानै अनुहारलाई ल्याएको छ । ढोरपाटन नगरपालिकाको प्रमुख भइसकेका देवकुमार नेपाली यो चुनावमा पनि एमालेको तर्फबाट प्रमुखमा प्रतिस्पर्धा गर्दै छन् ।
गत चुनावमा बडिगाड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारसँग पराजित काँग्रेसकी गण्डकी थापा अधिकारी अहिले गठबन्धनका तर्फबाट अध्यक्षको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।
राष्ट्रिय जनमोर्चाले पनि बरेङ गाउँपालिकाको अध्यक्षमा पुनः कृष्ण पौडेललाई अघि सारेको छ । गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर उनी गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन् ।