भरतपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरमा रेनु दाहाललाई जिताउनु काँग्रेसको कर्तव्य रहेको बताएका छन् ।
गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनकै कारण आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनलाई अप्ठ्यारो पर्ने काम काँग्रेसले गर्न नहुने बताए ।
भरतपुर महानगरको मेयरका रूपमा रेनुले गरेका कामहरू प्रशंसनीय रहेको भन्दै देउवाले रेनुले हारे चितवनका जनता रिसाउने बताए ।
‘रेनुलाई जिताउनु हाम्रो कर्तव्य हो । यति राम्रो काम गर्ने मेयर नजिताए चितवनका जनताले के भन्लान् ? गठबन्धन टुटाउने षड्यन्त्रमा हामी लाग्नुहुँदैन । गठबन्धन टुट्यो भने काँग्रेस पनि खत्तम हुन्छ’, देउवाले भने ।
उनले रेनु एक्लै जित्न सक्ने उम्मेदवार समेत भएको दाबी गरे ।
भरतपुरको विकासका लागि रेनुले अघि सारेका योजना हेर्दा जनतामा पपुलर देखिएको देउवाको दाबी छ ।







