तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकमा नेपाली काँग्रेस वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ ।
जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन ।
शुक्रबार साँझ करिब ९ बजे पालिका केन्द्र बर्बोटमा माओवादी–एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्षका उम्मेदवार थापा घाइते भएका थिए ।
झडपमा थापासँगै जैसीथोकका निरञ्जन कुँवर र सञ्जय नेपाली पनि घाइते भएका छन् । घाइतेको गुल्मी जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।
झडपमा सहभागी धुर्कोट रजस्थलका पाँच र गुल्मी दरबार गाउँपालिकाका एक गरी छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।
निर्वाचन अधिकृत मुना पौडेलका अनुसार सर्वदलीय बैठक पनि सुरु हुन सकेको छैन ।
मुजुल्कामा हस्ताक्षर गरेका दलहरुबीचमा सर्वदलीय बैठक राख्नुपर्ने भए पनि काँग्रेसबाट प्रतिनिधि नआउँदा बैठक बस्न नसकेको उनले जानकारी दिए । अहिले सर्वदलीय बैठकको प्रयास भइरहेको बताइएको छ ।