काठमाडौँ । भेट्रान भारतीय गजल गायक भूपिन्दर सिंहको सोमबार मुम्बईको एक अस्पतालमा निधन भएको छ ।
आन्द्राको क्यान्सर र कोभिड १९ सम्बन्धी शङ्कास्पद जटिलता देखिएपछि ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।
‘आने से उसके आए बहार’, ‘दिल धुन्धता है’, ‘एक अकेला’ आदि जस्ता थुप्रै चर्चित गजल तथा गीतहरुमा भूपिन्दरले स्वर भरेका थिए ।
चर्चित गायिकासमेत रहेकी भूपिन्दरकी पत्नी मिताली सिंहका अनुसार भूपिन्दरलाई युरिन इन्फेक्सन भएपछि अस्पताल भर्ना गरिएको थियो । जहाँ उनमा कोरोनाका लक्षणहरु पनि देखिएको थियो ।
उनको पिसाबमा संक्रमण देखिएपछि आठ-दश दिनअघि नै अस्पताल भर्ना गरिएको थियो । परीक्षणपछि उनलाई कोभिड १९ पोजेटिभ देखिएको हो ।
कोलोन क्यान्सरको आशङ्का र कोभिड १९ का कारण सोमबार बिहान अवस्था नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
साँझ ७ः४५ बजे हृदयघातका कारण उनको अस्पतालमै निधन भएको थियो ।
भूपिन्दर सिंहले सङ्गीत उद्योगका ठुला नामहरू जस्तै मोहम्मद रफी, आरडी बर्मन, मदन मोहन, लता मंगेशकर, आशा भोस्ले, गुलजारदेखि बप्पी लाहिरीलगायतका कलाकारहरूसँग काम गरेका थिए ।
सन् १९८० को दशकमा गायिका मितालीसँग विवाह गरेपछि उनी प्लेब्याक गायनबाट टाढा भएका थिए ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सङ्गीत जगतको लागि ठुलो क्षति भएको भन्दै भूपिन्दरको निधनप्रति शोक व्यक्त गरेका छन् ।