काठमाडौँ । सरकारले आज (शुक्रबार) नागरिकता विधेयक संसदमा पारित गर्ने भएको छ ।
संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गर्दै विधेयक पारित हुने जनाएको छ ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यसपछि गृहमन्त्री खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियो भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
अघिल्लो सरकारले ल्याएको नागरिकता विधेयक साढे तीन वर्षपछि फिर्ता लिएर सरकारले अर्को विधेयक संसदमा लगेको हो। यो विधेयक संसदीय समितिमा नपठाई संसदबाटै पारित गर्ने सरकारको तयारी छ ।
यस्तै शुक्रबारको बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरी पारित गर्ने सरकारको तयारी छ ।
यस्तै राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विशेष सेवा विधेयक २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बैठक दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ ।
