काठमाडौँ । नेपाली काँग्रेस जिल्ला कार्य समिति जुम्लाले सात जना नेता कार्यकर्तालाई कारबाही सिफारिस गरेको छ ।
जिल्ला उपसभापति दीपक शाहीलगायत सात जनालाई कारबाहीका लागि कार्य समितिले आज मङ्गलवार केन्द्रीय कार्यालयमा सिफारिस गरेको हो ।
उपसभापति दीपक शाही, महाधिवेशन प्रतिनिधि भक्तबहादुर रोकाया, गोविन्दबहादुर शाही, चन्दननाथ नगरपालिकाका सभापति रवि थापा, आसे बस्नेत, भक्त रोकाया र गोरबहादुर सुनारलाई कारबाहीका लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा आफ्ना उम्मेदवारविरुद्ध पार्टीको विधान र हित विपरीत कार्य गरेको पाइएकोले काँग्रेसले उनीहरूलाई स्पष्टीकरणसमेत सोधेको थियो । स्पष्टीकरण सोधिएकोमा रवि थापाले मात्र जवाफ दिनु भएको भए पनि चित्तबुझ्दो नभएको कार्य समितिले जनाएको छ ।
जुम्लामा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस कर्णालीका सभापति ललितजंग शाही प्रदेश (क) मा उम्मेदवार हुनुहुन्छ । शाहीकै विरुद्धमा काँग्रेसका नेता देवेन्द्रबहादुर शाहीको बागी उम्मेदवारी परेको छ ।
