काठमाडौँ । आफूलाई कुमारी आमा भनेर चिनाउने निहारिका राजपूत प्रकरणका आरोपित शिवराज श्रेष्ठले एनजिओको लगानीमा न्यायमाथि मजाक भइरहेको टिप्पणी गरेका छन् । बुधबार एक स्ट्याटस लेख्दै निहारिकाले चर्चामा आउन गलत प्रचारबाजी गरिरहेको टिप्पणीसमेत गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै निहारिकाले चर्चामा आउन गलत प्रचारबाजी गरिरहेको शिवराजले दाबी गरेका छन् । केही दिनअघि निहारिकाले प्राइम टाइम्स टेलिभिजनमा एक अन्तरवार्ता दिँदै आफूलाई मिल्न दबाब आएको र मिलेमा एक करोड दिने अफर आएको दाबी गरेकी थिइन् । तर उनको अन्तरवार्ता केवल चर्चामा आउनका लागि मात्रै रहेको भन्दै उनको दाबीमा कुनै सत्यता नरहेको शिवराजले बताएका छन् ।
शिवराजले भनेका छन्, ‘पहिलो कुरा, न म र मेरो परिवारले उनीसँग पछिल्लो २ वर्षदेखि कुराकानी नै गरेको छैन न म र मेरो परिवारको एक करोड दिने हैसियत राख्छ । एक करोड त टाढाको कुरा १ लाख पनि दिने हैसियत छैन हामीसँग । यो कुरा सरासर गलत र चर्चामा आउन गरिएको प्रोपोगाण्डा बाहेक अरू केही होइन ।’
आफ्नो स्ट्याटसमा शिवराजले निहारिकाले भनेको कुरा प्रमाणित गरेर देखाउन समेत चुनौती दिएका छन् । निहारिकालाई यस्तो कुरा गर्न कसले सिकाउँछ र उक्साउँछ भन्दै उनले किन यसो गरिरहेकी छिन् भनेर प्रश्न गरेका छन् ।
शिवराजले आफ्नो स्ट्याटसमा प्रेम सम्बन्धमा रहेको समयमा उमेर पुगेका युवा र युवतीबीच भएको शारीरिक सम्बन्धलाई बलात्कार भन्न मिल्ने हो कि होइन त्यसको व्याख्या अदालतले गर्ने हुँदा त्यसबारेमा केही नबोल्ने बताएका छन् । साथै नाबालक र निहारिकाले हक अधिकार पाउने कुरामा कहिल्यै नरोकेको र नरोक्ने तथा आफू आफ्नो जिम्मेवारीबाट च्युत नभएको स्पष्टीकरण दिएका छन् ।
उनले पटक पटक चर्चामा आउनकै लागि आफू नाबालिका हुँदै बलात्कारमा परेको त कहिले लट्ठाउने औषधी खुवाएको जस्तो झुटा कुरा गरेर मिडिया बाजी गरिरहेको आरोप लगाएका छन् ।
यस्तो छ शिवराजले लेखेको स्ट्याटस
निहारिका राजपूतका अभिव्यक्ति र उद्देश्यका बारेमा सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपूतको अन्तरवार्ता हेरेँ । आखिर उनलाई यस्तो यस्तो कुरा गर्न कसले सिकाउँछ, कसले उक्साउँछ र किन गर्छिन् होला भनेर म अचम्मित छु । अन्तरवार्ताका क्रममा उनले आफ्नो मुद्दा लेनदेन गरेर मिलाउन दबाब आएको झुटा र कपोलकल्पित कुरा गरेकी रहिछिन् । यतिसम्म कि मुद्दा मिलाउन एक करोडको प्रस्ताव आयोसम्म भन्न भ्याएकी रहिछिन् । के उनले यो कुरा प्रमाणित गर्न सक्छिन् कि कसले उनलाई एक करोडको प्रस्ताव गर्यो ? कुन उद्देश्यबाट किन यस्तो कुरा गरिन् थाहा छैन, तर उनको कुरा कति पत्याउने भन्ने सवाल पनि रहन्छ ।
पहिलो कुरा, न म र मेरो परिवारले उनीसँग पछिल्लो २ वर्षदेखि कुराकानी नै गरेको छैन न म र मेरो परिवारको एक करोड दिने हैसियत राख्छ । एक करोड त टाढाको कुरा १ लाख पनि दिने हैसियत छैन हामीसँग । यो कुरा सरासर गलत र चर्चामा आउन गरिएको प्रोपोगाण्डा बाहेक अरू केही होइन ।
न यो मुद्दा मिलाउने मुद्दा हो न मैले उनीमाथि अपराध गरेको छु । प्रेम सम्बन्धमा रहँदा उमेर पुगेका युवा र युवतीबीच भएको शारीरिक सम्बन्धलाई बलात्कार भन्न मिल्ने हो कि होइन, त्यसको व्याख्या अदालतले गर्ने भएकाले मैले केही बोलिन ।
हक अधिकार लिने दिने विषयमा मैले कहिल्यै कसैलाई रोकेको छैन । नाबालक र उनले हक अधिकार खोजेमा त्यस्तो हक अधिकार दिने विषयमा मेरो कुनै असहमति छैन । म मेरो जिम्मेवारीबाट च्युत भएको छैन र हुने छैन ।
तर कहिले म नाबालक थिएँ भनेर चर्चामा आउन मिडिया बाजी गर्ने, मलाई लट्ठ्याउने औषधी खुवायो जस्ता झुटा कुरा किन गर्नु ? ओरेक नेपाल नाम गरेको एनजिओले के कति उद्देश्य र स्वार्थ राखेर उनलाई बोकिरहेको छ ? उनी काठमाडौँमा बस्ने खाने व्यवस्था कुन व्यक्ति वा संस्थाले किन र कसरी गरिरहेको छ ? उनलाई विभिन्न व्यक्तिको मुद्दामा ‘अभियन्ता’ भएर हिँड्न आर्थिक सहयोग कसले गरिरहेको छ ? वा उनको आम्दानी के हो ? ओरेक नेपालले लाखौँ लाख खर्च गरेर उनका लागि वकिल हायर कसरी गरिरहेको छ ? एनजिओको पैसामा किन न्यायमाथि मजाक गरिंदैछ ?







