काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पटक-पटक काठमाडौँ उपत्यकाका सडकहरू भत्काउने समस्या समाधानका लागि पहल थालेका छन् । मन्त्रालय र सडक विभागले बनाएका सडक विभिन्न निकायहरूले भत्काउने र टाल्ने गरेको भन्दै आलोचना भइरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले समस्या समाधानका लागि पहल थालेका हुन् ।
श्रेष्ठले समस्या समाधानका लागि आज मन्त्रालयमा सरोकारवाला निकायका पदाधिकारी बोलाएर छलफल गरेका छन् । उक्त बैठकमा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मेलम्ची खानेपानी आयोजनाका निर्देशक राजेन्द्र सापकोटा, काठमाडौं उपत्यका खानेपानी लिमिटेका प्रबन्ध निर्देशक ज्ञानेन्द्र कार्की, नेपाल दूरसञ्चार संस्थानकी उपमहानिर्देशक विनीता प्रधान तथा मन्त्रालय र अन्तर्गतका सहसचिवहरूको उपस्थिति थियो ।
सडक विभागले बनाएका सडक प्राधिकरण, खानेपानी, दूरसञ्चार जस्ता सरकारी निकायहरूले नै भत्काउने गरेको भन्दै आलोचना भइरहेको बेला श्रेष्ठले समन्वयमा काम गर्न भविष्यमा त्यस्तो हुन नदिनका लागि बैठक आयोजना गरिएको हो ।
बैठकमा उप्रधानमन्त्रीले सरकारी निकायहरूबीच नै समन्वय अभावले सडक भत्किरहने समस्या समाधानका लागि सबै निकायले एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए ।
एउटा निकायले बनाएको सडक अर्को निकायले भत्काउँदा त्यसले जनतामा नकारात्मक असर परेको भन्दै अबदेखि त्यस्तो समस्या आउन नदिन सबै निकाय जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले समन्वयमा काम गर्न आफूहरू तयार रहेको बताएका थिए ।
यसैबीच भोलि बिहान ८ बजे उपप्रधानमन्त्री श्रेष्ठसहित मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको टोलीले अनुगमन गर्ने भएको छ । लैनचौरबाट सुरु हुने अनुगमन बुढानीलकण्ठ, जाउलाखेल र भैसेपाटीसम्म पुग्ने जनाइएको छ ।