झापा । विर्तामोड नगरपालिका-६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको रु ५१ करोड २९ लाख ६१ हजारको सहयोगमा छ दशमलव दुई सय ५८ किलोमिटरको सडक निर्माण हुने भएको हो ।
दुई वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मङ्सिर १६ गते विर्तामोडको आरपी साप समता जेभीले ठेक्का सम्झौता गरेको नगरका पूर्वाधार विकास तथा भवन नियमन शाखाका इञ्जीनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दुई लेनको सडकको दुवैतर्फ पेबर्स बिछ्याइनेछ । सो सडक निर्माणको क्रममा पाँच वटा बक्स पाइप, १२ वटा ह्युमपाइप राखिने उनले बताए । सात मिटर चौडाइ हुने सडकमा हाल रहेका सिमेन्टका पोललाई विस्थापित गरी एक सय ६८ वटा इलेक्ट्रिक पोल लगाइनेछ । जसमा सडकको दुवैतर्फ झिलिमिली बनाउन छ सय १९ वटा स्टिल लाइट राखिने उनको भनाइ छ ।
इञ्जीनियर श्रेष्ठले सो सडकमा एक सय ३८ वटा ट्राफिक साइन पोस्ट, छवटा स्टेण्डर मार्करस्टोन, रोडवे डेलिनेटर एक सय वटा बनाइने जानकारी दिए । सडक निर्माणसँगै दायाँबायाँ गरी विभिन्न फूल प्रजातिका एक हजार दुई सय ३६ वटा बिरुवा रोपण गरिनेछ ।
यसअघि सङ्घीय, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका सडकभन्दा आधुनिक व्यवस्थित हुने नगरप्रमुख पवित्रा महतराले बताए । जुन सडक जिल्लाकै नमूना सडकका रूपमा स्थापित हुने उनको भनाइ छ ।







