काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत ज्ञानको प्रवाहलाई संरक्षण गर्दै आयुर्वेद, योग, प्राकृतिक चिकित्सा विधि एवं वास्तु शास्त्रीय विषय आधुनिक शैलीबाट अध्यापन गराउने वातावरण मिलाउन नेपाल संस्कृति विश्वविद्यालयलाई आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारीले ऋषिमुनिहरुले नासोका रूपमा हामीलाई छोडेर गएका नेपालका वैदिक परम्परा तथा उपचार विधिहरूको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको र यसका लागि मुलुकका विश्वविद्यालयहरू पनि लाग्नुपर्नेमा जोड दिइन् ।
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा निर्माण भएको आयुर्वेद शिक्षण भवन उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले सो धारणा राखेकी हुन् ।
उनले संस्कृत शिक्षासँग आफ्नो पनि व्यक्तिगत एवं भावनात्मक सम्बन्ध रहेको भन्दै जननेता मदन भण्डारी पनि संस्कृत विधाकै उत्पादन रहेको स्मरणसमेत गरिन् ।
दाङ उपत्यका नेपालको ठूलो उपत्यकामध्येको एक रहेको र मानव सभ्यताको विकासमा यसको ठूलो योगदान रहेको स्थानका रूपमा पनि चिनारी रहेको बताउँदै उनले आफू धेरै पटक दाङ आएको स्मरण पनि गरिन् ।
नेपाल संस्कृत विश्वविद्यालय दाङमा हुँदा त्यसले दाङको परिचयमा उचाइ अझै थपेकोसमेत उनले बताइन् । उनले संस्कृत भाषा, वाङ्मय र पूर्वीय सम्भयताको अध्ययन दाङमै हुनु नागरिकका लागि सौभाग्यको कुरा रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले मध्यकालीन समाजका विभिन्न विषयमा जानकारी दिने हजारौँ दुर्लभ ग्रन्थ संस्कृत भाषामा लेखिएकाले तिनबाट अहिलेको र आगामी पुस्ताले लाभ लिन सक्ने वातावरणका लागि विश्वविद्यालयले प्राज्ञिक व्यक्तिहरू उत्पादनमा लाग्नुपर्ने बताइन् ।
साथै उनले शिक्षण भवन उद्घाटनसँगै यसले आयुर्वेद विषयका कैयौँ स्नातक उत्पादन गर्ने काममा सघाउन पुग्ने विश्वाससमेत व्यक्त गरिन् । उनले विश्वविद्यालयका प्राध्यापक एवं प्राज्ञिक जनशक्तिलाई संस्कृतको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने काममा लाग्न आग्रह गरिन् ।
उ