काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका शाखा कार्यालयहरूबाट नै बीमा दाबी भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणले पहल गरिरहेको बताएका छन् ।
नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बुधबार रुपन्देहीको बुटवलमा उद्योगी व्यवसायीसँग भएको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
सो अवसरमा अध्यक्ष सिलवालले न्यूनतम कागजातको व्यवस्था गरी बीमितलाई छिटो-छरितोरुपमा बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन समेत दिइएको बताए । साथै दुर्घटना बीमाको बीमाङ्क वृद्धिका सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरेर आवश्यक प्रक्रिया अगाडि बढाइने समेत उनले बताए ।
बीमा सचेतना अभिवृद्धिका लागि प्राधिकरणले प्रदेश सरकार र स्थानीय सरकारसँगको बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्राधिकरणका प्रदेश कार्यालयहरूबाट बीमा दाबी भुक्तानी तथा गुनासो व्यवस्थापनका साथै बीमकको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण लगायतका कार्यहरू हुँदै आएको जानकारी दिए ।







