काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस गरिएको छ ।
आइतबारको बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उक्त विधेयक पेस गरेकी हुन् ।
शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन र संक्रमणकालीन न्यायमा बाकी रहेका काम सम्पन्न गर्नका लागि विधेयक पेस गरिएको उनले बैठकमा जानकारी गराइन् ।
बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएका थिए । सो सूचना बैठकको बहुमत सङ्ख्याले अस्वीकार गरेको थियो ।