काठमाडौँ । संसदमा राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक दर्ता भएको छ । राष्ट्रिय व्यक्तित्वदेखि पूर्वविशिष्ट व्यक्तित्वको मर्यादा, राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगको विधि निर्धारण हुनुपर्ने भन्दै राष्ट्रिय सभा सदस्यहरूले गैरसरकारी विधेयक दर्ता गराएका हुन् ।
काँग्रेसका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले विशिष्ट पदाधिकारीदेखि पूर्वविशिष्टहरूको सेवा, सुविधा र सम्मानका विषयमा विवाद हुने गरेकाले आफूहरूले कानुनको आवश्यकता ठानेर विधेयक दर्ता गरेको बताए ।
विधेयकले सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम, अति विशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधन तथा राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने, सलामी दिने जस्ता विषयहरू समेटिएको संसद् सचिवालयले जनाएको छ ।