काठमाडौँ । स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने त्रिभुवन विश्वविद्यालयको निर्णयको विद्यार्थी सङ्गठनहरूले विरोध जनाएका छन् ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई दुःख दिने मनसायका साथ परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र सार्ने निर्णय गरेको आरोप लगाएका छन् । यो निर्णयबाट विद्यार्थीहरुमा मनोवैज्ञानिक असर पर्ने उनीहरुको ठहर छ ।
परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउनु पर्नेमा विद्यार्थीहरूलाई मनोवैज्ञानिक रूपमा असर पर्ने गरी चैत्र १२ गते बाट सञ्चालन गरिने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने निर्णयप्रति ध्यानाकर्षण जनाएका हुन्।
भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरू सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पस भन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष संयुक्त रूपमा माग गरेका छन्।
‘अविश्वसनीय परीक्षा प्रणाली, विद्यार्थीले समयमै प्रमाण पत्र प्राप्त नगर्नु, केन्द्रीय कार्यालय बल्खुको अव्यवस्थापन लगायतका तमाम समस्याहरूबाट परीक्षा नियन्त्रण कार्यालय उम्किन सकेको छैन । परीक्षा जस्तो संवेदनशील विषयमा गरिँदै आएका लापरबाही, अपारदर्शिता र गैर जिम्मेवार निर्णहरुप्रति आपत्ति जनाउँदै परीक्षा प्रणालीलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन हार्दिक अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ।
