काठमाडौँ । आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबलकारले स्थानीयलाई ४५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
बुटवल उपमहानगरपालिका-३ मा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका-३ बसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले यी दुवै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा ४५ प्रतिशत छुट दिने घोषण गरेको हो ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार जेठ १५ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आउने र २५ गते औपचारिक उद्घाटन हुने बताए ।
२०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले केबलकारको उद्घाटन गरेका थिए ।
स्थानीयको साथ र सहयोगले केबुलकार छिटै सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा ४५ प्रतिशत छुट गरिएको अध्यक्ष ढकालले बताए ।
लुम्बिनी केबलकारले प्रति टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाका लागि छुट्याएको र उक्त रकम दुवै पालिकाले आधा आधा बाँडफाँट गर्ने ढकालले बताए ।
केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने भएकाले केबलकार सञ्चालनले प्रदेशको राजधानी दाङ सर्दा रुपन्देहीको व्यापार व्यवसायमा परेको असरलाई पूर्ति गर्ने र रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालले बताए ।







